Logo

३१ भदौ,जनकपुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले मुलुकमा गठबन्धनको सरकार रहेकाले गठबन्धनमा असन्तुष्टि र असजता स्वाभाविक रहेको बताएका छन् ।

आइतबार प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्वगृहमन्त्रीसमेत रहेका नेता निधिले सबै दलको विचार, कार्यशैली र स्वार्थ नमिल्दा गठबन्धन सरकारमा असन्तुष्टिसँगै असजता हुनु स्वाभाविक रहेको बताएका हुन् ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि कुनै एक दललाई आमनिर्वाचनमा बहुमत आएको भए अहिले विभिन्न स्वार्थ समुह बीचको गठबन्धनले केही असन्तुष्टिसँगै असहजता देखिएको बताए ।

नेता निधिले भने, ‘गठबन्धनको सरकार भएपछि सबै दलको आ–आफ्नो स्वार्थ र दलभित्रपनि सबै नेताको आ–आफ्नो इच्छा आकांक्षाका कारण गठबन्धन भित्र असन्तुष्टिसहित असजता देखापर्नु स्वाभाविक हो ।’

उनले अहिले गठबन्धनको सरकारका कारण पाँच वर्ष भित्रमा पालैपालो सरकार बन्ने नाममा मुलुकमा राजनीतिक स्थिरता नहुँदा विभिन्न खाले कठिनाइ, समस्या र मुलुकले आर्थिक भारसमेत थेग्दै आउनु परेको बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका निधिले गठबन्धनको सरकार भएपछि पाँच वर्षसम्म स्थिररुपमा सञ्चालन हुनु पर्नेमा पालै पालो सरकार बन्ने खेलमा लागेपछि राजनीति स्थिरता नहुने बताए ।

उनले भने, ‘अहिले गठबन्धनको सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको भन्दै उनले अब आउने केही महिनापछि माधव नेपाल फेरी त्यसपछि काँग्रेस नेतृत्वको सरकार हुने भन्ने गठबन्धनमा सहमती भएको भन्ने कुराहरु विभिन्न माध्यमबाट सुनेकाले यस्ता खाले कुराले मुलुकमा राजनीति स्थिरता रहन सक्दैन ।’

उनले मधेश प्रदेशको अर्थतन्त्र निकै दयनिय रहेको भन्दै उनले मधेश प्रदेश सरकारले योजना बनाएर अघि बढ्नुपर्ने सुझाव समेत दिए ।
उनले मधेशमा अर्थतन्त्र निकै खस्किएकाले यस तर्फ मधेश प्रदेश सरकारले अहिलेदेखि नै अर्थतन्त्रलाई कसरी बलियो बनाउने र यसका लागि कार्ययोजना बनाई काम गर्न सुझाए ।

उनले अहिले मधेश प्रदेश स्थित नेपाल–भारत सिमानाका तर्फ आमजनजिवन कष्टप्रदरुपमा वितिरहेको बताउँदै उनले सिमावर्ती क्षेत्रमा दैनिक उपभोग्यलाई आफ्नो जिवनयापन गरिरहेका आमजनको समस्या बढेकाले यस तर्फ सरकारले ध्यान दिई खुकुलो गर्न आग्रह गरे ।

उनले यही असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउने कार्यक्रम रहेको भन्दै असोज २ गते मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठक हुने बताए ।
नेता निधिले राष्ट्रपति पौडेलले जनकपुरधाममा जानकी मन्दिर दर्शन, पूजापाठ पश्चात नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको बताए ।


सम्बन्धित समाचार