Logo

१ असोज, वीरगञ्ज । सरकारी वकिल कार्यालय काठमाण्डौले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला अदालत काठमाण्डौमा दायर गरेको मुद्दामा बारा कलैयाका २ जना व्यवसायी परेका छन ।

सुनको अवैध कारोवारमा संलग्न भएको आरोपमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बारा, कलैया बस्ने ४५ वर्षीय शिव कुमार सरार्फलाई प्रतिवादी र कलैया उपमहानगरपालिका वडा नम्बर १, कलैया बारा बस्ने स्थायी ठेगाना भएका भोला साह सोनारलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका शिवकुमार सरार्फले भोला साहको नाउँमा कारोवार गर्दै आएकोले उनलाई समेत प्रहरीले खोजता गरेको र फरार प्रतिवादीको रुपमा अदालतमा पेश गरेको छ ।

वीरगञ्जमा बसेर सुनचाँदीको अवैध कारोवारमा संलग्न केही व्यापारीलाई अनुसन्धानको घेरा बाहिर राखिएकोमा प्रहरी र राजश्व अनुसन्धान विभागको नियत माथि प्रश्न उठन थालेको छ ।

कलैयाका शिवकुमार भन्दा ठूला कारोवारीलाई प्रहरीले जोगाएर शिवकुमार सरार्फ र भोला साह सोनारलाई मात्र पक्राउ गर्नुको पछाडी अन्य कारोवारीसँग बार्गेनिङ गर्न खोजेको वीरगञ्जका सुन व्यवासायीको आरोप छ ।

बारा र पर्साका सुनचाँदी व्यवसायी संघका अध्यक्षहरुले विभिन्न कम्पनीहरुको नाउँमा सुन बैकबाट खरिद गर्ने र स्थानीय व्यापारीलाई नदिई सिधै भरिया मार्फत भारत तश्करी हुने गरेको वीरगञ्जका साना सुन व्यवसायीहरुको भनाई छ ।

कलैयाका शिवकुमार सरार्फ र पर्साका भुलन साह सोनारले समेत विभिन्न कम्पनीको नाउँमा बैक मार्फत वा अवैध मार्गभएर आएको सुन भारत तस्करी गर्दै आएका छन् । उनीहरुले रक्सौलका दुई जना सुन कारोवारीसँगको साझेदारीमा भारत तर्फ सुन तस्करी गराउदै आएका हुन । शिवकुमार बारा र भुलन साह पर्साको सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन । यी दुवैजना लामो समय देखि संघको जिल्ला अध्यक्षको भूमिकामा रहदै आएका छन् ।

भारतको रक्सौल निवासी संजय र राजीव गुप्ताको वीरगञ्जमा समेत सुन पसल संचालनमा रहेको छ । उनीहरुले नेपाली नागरिकता भएकी महिलासँग विहे गरेर ती महिलाको नाउँमा सुन पसल सञ्चालन गर्दै आएका हुन । कम्पनी कार्वाहीमा पर्ने भएमा नेपाली महिला फस्ने तर भारतीय व्यवसायी उम्कने भएकोले उनीहरुले निर्धक्क भारत तर्फ सुनको अवैध कारोवार गर्ने गरेको वीरगञ्जका व्यवसायीको भनाई छ ।

संजय गुप्ता, राजीव गुप्ता, राजु, शिवकुमार सरार्फ, भुलन साह सरार्फ र अभिषेक सरार्फको समुहले दुवई, सिंगापुर हुदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अवैध रुपमा बाहिरीएको सुन वीरगञ्ज, कलैया मलंगवा लगायतका नाकाबाट भारतको दिल्ली सम्म कारोवार संचालन गर्दै आएको सुन व्यवसायमा संलग्न कारोवारीहरुले बताउने गरेका छन् ।

कलैयाका शिवकुमार पक्राउ परेपछि वीरगञ्जका सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन साह सरार्फ आफू समेत पक्राउ पर्ने डरले काठमाडौ पुगेका थिए । उनले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई समेत भेटेर वीरगञ्ज फर्किएका थिए । ढुंगाना वीरगञ्ज भंसारको प्रमुख भंसार प्रशासकको रुपमा रहदा वीरगञ्जका विभिन्न कारोवारीसँग उनको चिनजान र उठवस रहने गरेको थियो । सायद त्यहीँ चिनजानको फाइदा उठाउदै भुलन साह अनुसन्धानको दायराबाट उम्कन खोजेका छन् ।

सिआईवीले पुन सुनको अवैध कारोवारलाई दोश्रो चरणको अनुसन्धान गर्ने तयारी गरेपछि वीरगञ्जका केही सुन व्यवसायी मोवाइल अफ गरेर भारत तर्फ लागेका छन् भने केही विभिन्न शक्तिकेन्द्रको सिफारीसमा काठमाडौं बसेर प्रहरी कार्वाहीबाट बच्ने उपायको खोजिमा छन् ।

विभिन्न कालखण्डमा पर्साको प्रहरी प्रमुख भएर बसेका एसपी देखि एआइजी सम्मलाई खुसामत गर्न सुन कारोवारीहरु काठमाडौंमा बसेका छन् ।

अवैध सुनको कारोवारमा को को छन ?

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको छानविन हुने लिष्टमा थिए । वीरगञ्जका सुनचाँदी व्यवसायी अभिषेक सरार्फ धेरै कारोवार गर्ने व्यापारीको नाउँमा पर्ने भएपनि उनी अहिले प्रहरी कार्वाहीबाट जोगिन सम्पर्क बाहिर छन् । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेक सरार्फले कारोवार गर्दै आएका छन् ।

त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत कारोवार गर्दै आएका छन् उनीहरु समेत प्रहरीको कार्वाहीबाट जोगिने खेलमा लागेका छन् ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन । उनीहरु समेत काठमाडौैमा वसेर प्रहरी मिलाउने खेलमा लागेको स्रोतको भनाई छ ।

सुन तस्करी प्रकरणमा मधेस प्रदेशबाट ठूलो संख्यामा कारोवारी फेला पर्ने डरले केही भारततर्फ लागेका छन भने केही विभिन्न राजनीतिक दलका नेतालाई समातेर शक्तिकेन्द्रको आडमा प्रहरी कार्वाहीबाट जोगिन खोज्दै छन् । केही व्यवसायी भने वीरगञ्जमा वसेका प्रहरी अधिकृतको सम्पर्कमा रहेर लेनदेनबाट बच्ने उपायमा छन् ।

काठमाडौं न्यूरोडमा रहेका जयमातादी गोल्ड प्यालेसका संचालक पवन अग्रवाल र वीरगञ्ज स्थायी घरभई हाल काठमाडौं बसेर सुनको अवैध कारोवारमा संलग्न रहदै आएका अमित दारुको समेत प्रहरीका सिनियर अधिकृतसँगको सम्पर्क रहेको भन्दै कार्वाहीबाट उम्किदै आएका छन् ।


सम्बन्धित समाचार