Logo

६ असोज,वीरगञ्ज । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समयावधि आउँदो १० गतेसम्म थप भएको छ । खोप अभियानमा लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।

यसअघि हिजोसम्म समय थप गरिए पनि यस अवधिमा शनिवार, शोक बिदा, तीज, शिक्षक आन्दोलन लगायतका कारण खोप अभियान प्रभावकारी हुन सकेको छैन । पहिलो चरणमा १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीहरुलाई खोप दिन थालिएको हो । यो उमेरसमूहका किशोरीको सङ्ख्या साढे तीन लाख रहेको छ ।

सरकारले गएको भदौ २७ गतेदेखि थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एचपीभी खोप अभियान शुरु गरेको हो । मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा एचपीभी खोप उपलब्ध रहेकोमा अब भने पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित हेल्थ पोष्टमा खोप लगाइने पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार यहि असोज ८ गते सोमबार हेल्थ पोष्टमा खोप लगाइनेछ । अधिकृत ठाकुरका अनुसार नारायणी अस्पतालमा पहिलो चरणमा १८७, दोस्रो चरणमा ८७ र तेस्रो चरणमा ५९ गरि जम्मा तीन सय ३ जना किशोरीहरुले उक्त खोप लिएका छन् ।

पर्साको सखुवाप्रसौनीमा ३०० जना, ठोरीमा २५०, बिन्दबासीनी २०० जना र जीराभवानीमा २०० जना किशोरीले खोप लिएका छन् । सरकारले किशोरीहरुलाई दिइरहेको खोपमा हरेक प्रदेशमा उल्लेख्य मात्रामा लगाइएको भएपनि पर्सामा भने यो खोप लिने किशोरीको सख्ंया अत्यन्त न्यून रहेको उहाँले बताउनुभयो ।

अभिभावकहरुको हेलचक्राई, चेतनाको कमि, प्रचारप्रसारको अभाव जस्ता कारणले पर्सामा न्यून मात्रामा खोप लगाइएको उहाँको तर्क छ । यसरी वीरगञ्ज महानगरपालिकासँग नै समन्वय गरेर खोप लगाउने अभियान चलाएको भएपनि किशोरीहरु खोप लिन नै नआउनु दुखद विषय भएको उहाँको भनाइ छ ।

पर्सा जिल्लामा १ हजार ५८५ डोज खोप आएकोमा १ हजार २९३ खोप लगाइसकिएको छ । ११ डोज खोप भने खेर गएको अधिकृत ठाकुरले बताउनुभयो ।


सम्बन्धित समाचार