Logo

१० असोज, वीरगञ्ज । नेकपा एमालेले बागमतीमा सर्वसम्मत नेतृत्व छनोटको प्रयत्न गरेपनि अध्यक्ष पदकालागि पाँचजनाले मनोनयन दर्ता गरेका छन ।

मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलसँगै अन्य तीनजनाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशवराज पाण्डे, केशरबहादुर बुढाथोकी र बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले पनि मनोनयन दर्ता गराएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गरेपनि बागमती प्रदेशमा अध्यक्ष लगायत पदाधिकारी पदमा कडा प्रतिस्पर्धा हुने भएको छ । पार्टी अध्यक्ष ओलीले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरे उमेदवारी खारेज गरिदिने धम्की दिएपनि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलास ढुंगेलले प्यानल बनाएर चुनावी प्रतिस्पर्धातिर जाने देखिएको छ।

रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ प्रस्तावक र वचन देउजा समर्थक रहेर ढुंगेलले उम्मेदवारी दर्ता गरेका हुन्। ढुंगेललाई एमाले नेता महेश बस्नेतसहितले साथ दिएका छन्।

उता दाहालको प्रस्तावकमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र समर्थकमा देवकृष्ण विकल छन्। नेताहरुले सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि बिहीबार मतदान गराउने तयारी भएको छ।

एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्।

वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले(माओवादी गठबन्धन सरकारमा मन्त्री भएका थिए। प्रतिनिधि सभामा तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन्।

ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारेका थिए।

यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका पनि अनुभवी नेता हुन्।

उनी २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि छन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा उनी उम्मेदवार बनेनन्।

उपाध्यक्षमा ५ जना

एमाले बागमतीको पहिलो अधिवेशनमा उपाध्यक्षतर्फ पनि पाँचैजनाले उम्मेदवारी हालेका छन्।

निर्वाचन समितिका अनुसार राजेन्द्र राजथला, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र सुवासचन्द्र ठकुरीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

सचिवका लागि चारजनाको उम्मेदवारी परेको छ। रामकुमार अधिकारी, हस्त पण्डित, नवराज सिलवाल र रत्न गुरुङले सचिवमा उम्मेदवारी दिएका हुन्।

उपसचिव पदका लागि टासी लामा, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, डब्बल पाण्डे, भक्तकुमारी लामा, ठाकुरप्रसाद गजुरेल, रमेश महर्जन, कृष्णहरि थापा र ओमराज पन्तको मनोनयन दर्ता भएको छ।

एमालेले बागमतीको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन गराउँदैछ। निर्वाचन कार्यक्रम अन्तर्गत एमालेले विद्युतीय मेशिनमा मतदान गराउने भएको छ।


सम्बन्धित समाचार