Logo

११ असाेज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साको एउटा समूहले बुधबार सिंघासन साह तेलीको नेतृत्वमा गठन गरेको कार्यसमिति अवैधानिक रहेको मधेश प्रदेश समितिले जनाएको छ ।

जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले पर्सामा तेलीको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमिति नै अवैधानिक रहेको बताएका छन् ।
रेस खवरसँगको कुराकानीमा मधेश प्रदेश समितिका अध्यक्ष यादवले भने, ‘पर्सामा अहिले प्रदेश समितिबाट नयाँ कुनै जिल्ला कार्यसमिति गठन भएको छैन, रामनरेश यादवको अध्यक्षतामा पहिलादेखि नै कार्यसमिति छ । पार्टीले अहिलेसम्म त्यसैलाई मान्यता पनि दिएको छ। त्यसकारण अरु कुनै नयाँ बनेको जिल्ला कार्यसमिति वैधानिक होइन ।’

उनका अनुसार पर्सामा गठन भएको नयाँ जिल्ला कार्यसमितिबारे प्रदेश समितिलाई जानकारी समेत छैन् । उनी भन्छन्, ‘विधान अनुसार जिल्ला कार्यसमिति गठन हुँदा त्यहाँ प्रदेश समतिको प्रतिनिधि हुन्छ, उसैको रोहबरमा समिति गठन भएको हुनुपर्छ। जसलाई नै पार्टीलाई आधिकारिकता दिएको हुन्छ । तर पर्साको हकमा त्यो भएको छैन्।’

त्यसकारण रामनरेश यादवबाहेकको कुनै समिति आधिकारिक नभएको उनको भनाइ छ । उनका अनुसार पार्टी विधानमा प्रदेशले जिल्ला अधिवेशन गराउँने व्यवस्था छ ।

पर्सा जिल्लामा बुधबार भएको समानान्तर कमिटि गठनबारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
रेसखबरसंगको कुराकानीमा पार्टी अध्यक्ष यादवले भने,‘अहिले काँही पनि नयाँ कार्यसमिति गठन भएको छैन, यदि कुनै जिल्लामा कसैले गरेको छ भने त्यो मलाई जानकारी छैन्।’ उनका अनुसार अहिले पार्टीमा प्रदेश संरचनामा गइसकेकाले अब जे हुन्छ, प्रदेश समितिकै निर्णय अनुसार हुन्छ ।

प्रदेश समितिका प्रवक्ता सुशिल यादवले पनि पार्टीबाट आधिकारिक जिल्ला समिति विस्तार नभएको बताए । पार्टी विधान अनुसार रामनरेश यादव नै जिल्ला अध्यक्ष रहेको हुनाले यादव नै पार्टी अध्यक्ष रहेको उनी बताउँछन् ।

पर्सा जसपामा आन्तरिक विवाद चुलिएको छ । जसपा तदर्थ समितिका अध्यक्ष र केन्द्रिय सदस्य दुई समूहमा विभाजन भएपछि विवाद चर्किएको हो ।
बीरगन्जमा जसपाले अध्यक्षसहित नयाँ कार्यसमिति विस्तार गरेपछि विवाद सतहमा आएको हो । नयाँ कार्यसमितिको चयन भएपछि जसपा अहिले २ खेमामा विभाजित भएको छ ।

एउटा खेमा सांसद प्रदीप यादवको नेतृत्वमा खडा भएको छ भने अर्को जिल्ला अध्यक्ष रामनरेश यादवको । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका यादवको पक्षमा बीरगन्जका मेयर राजेशमान सिंह छन् भने जिल्ला अध्यक्ष यादवको समूहमा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु छन् ।


सम्बन्धित समाचार