Logo

१४ असोज, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले नागरिकलाई झुक्याएर वीरगञ्जमा भीड जम्मा गरेको रहस्यको उजागर भएको छ ।वीरगञ्जको घण्टाघरमा आयोजित राप्रपा नेपालको बृहत आमसभामा आम जनता नआउने राप्रपा अध्यक्ष कमल थापाले छनक पाएपछि ‘फण्डा’ गरेर भीड जम्मा पार्न लगाएको कार्यक्रममा सहभागी एक नेताको आरोप छ ।

राप्रपा नेपालका अध्यक्ष थापाले कार्यक्रममा सहभागिता कम हुने भेउ पाएपछि कार्यकर्तालाई निर्देशन दिँदै भने,‘गाउँगाउँमा गएर महिला समूहमा आवद्ध रहेकालाई जानकरी गराउनुस, तपाईहरुले लिएको ऋण माफी गराइन्छ, तर त्यसको लागि कमल थापाको कार्यक्रममा सहभागी हुनुपर्छ । सहभागी भएकाहरुको सबैको ऋण माफी हुन्छ ।’

राप्रपा नेपाल पर्साका कार्यकर्ताहरुले अध्यक्ष थापाको यो संदेश सबैतिर प्रवाह गरेपछि कार्यक्रममा गाउँगाउँबाट महिलाहरुले सहभागिता जनाएका छन् ।
कार्यक्रममा सहभागी पर्सा सखुवा प्रसौनी गाउँँपालिका वडा नम्बर १ सथवलकी उमरावती देबीले आफूहरुले लिएको ऋण रकम माफी गराउँने भन्दै बोलाएर ल्याइएको बताइन् ।

उनलाई भनिएको छ–‘घण्टाघरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँनेहरुको ऋण माफ गरिन्छ, त्यसकारण जोजोलाई ऋण माफी गराउँनुछ भन्ने कार्यक्रममा हिड्नुहोस ।’
यही आश्वासन पाएपछि सखुवाप्रसौनीकी उमरावती कार्यक्रम आइपुगेको बताइन् । उनीमात्रै होइन बहुदरमाइ नगरपालिको डोकैलाका पनि एक जना महिला (गोलिया) महिला समूहबाट लिएको ऋण मिनाहा गराउँने आश्वासन दिएपछि कार्यक्रममा आइपुगेको जनाइन् ।

तर उनले भनिन्,‘ कार्यक्रम आउँदा त्यो बारेमा कुरा नै भएन, हामीसंग झुट बोलियो । यहाँ त खाली पार्टीको कुरा भइरहेको छ ।’ त्यसकारण हामी निस्किन लागेको उनले बताइन् ।
घण्टाघरको आमसभामा सहभागी बीरगन्जको श्रीपुर निवासी सुवास चौहान पनि महिलाहरुलाई दिइएको आवश्वानबारे जानकार रहेको बताए ।

रेसखबरसंग कुरा गर्दै उनले भने,‘खासगरी गाउँघरका महिलाहरु आश्वासन दिएर बोलाइएको छ, त्यसकारण महिलाको बढी सहभागिता पनि छ । ऋण माफ गराउने आश्वासन दिइएको हो ।’ऋण मिनाहाको सवलामा राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश साह कानुसंग रेसखबरले लिएको प्रतिक्रियामा उनले असहमति जनाएनन् ।

तर उनले भने,‘हो, हामीले भनेका थियौं–तपाइहरु आउनुहोस हामी ऋण माफी गराउँछौं, तर बैंकबाट होइन । आन्दोलन गरेर सरकारबाट माफी गराउने हामीले भनेकै हौं ।’ तर बाहिर भनिएका अरु कुराहरु भने सही नभएको पर्सा अध्यक्ष कानुको भनाइ छ ।


सम्बन्धित समाचार