Logo

१४ असोज, वीरगञ्ज । आफ्नै श्रीमतीको योजनामा भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको तथ्य बारा प्रहरीले सार्वजनिक गरेको छ । असोज ९ बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजितकुमार सिंहको गोली हानेर हत्या गरिएको थियो ।

सिंहको हत्याको मुख्य योजनाकार नै उनीकी श्रीमति सोहन सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश काफ्ले बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनी सिंहलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको छ ।

अजितकी श्रीमति सोनम सिंहकै योजनामा सुजितकुमार सिंह समेतको संलग्नतामा उनको हत्या भएको प्रहरीले जनाएको छ । सुजितकुमार सिंह र सोनम सहनी विच अवैध सम्वन्ध रहदै आएको प्रहरी समक्ष सोनमले बताएकी छन् ।

विवाह पछि पनि सोनमसँग रहदै आएको अवैध सम्बन्ध र आर्थिक लेनदेनका कारण सुजितले अजितको हत्यागर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए । भारत मोतिहारी माइती भएकी सोनम सहनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् ।

घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजितकुमार सिंह पछाडि बसेर आएका हुन् । लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितकुमारले अजितलाई गोली प्रहार गरेका थिए ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट थाहा भएको छ ।

सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको बाराका एसपी काफ्लेले जानकारी दिए ।

हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका हुन् । हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार छन् ।

मृतक र सुटर एउटै समूहका हुन् । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडी बढ्न खोजेपछि उनको हत्या गरिएको थाहा भएको छ । सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

सुजित सिंहको समूहले बारामा एकबर्ष अघि एकजनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।


सम्बन्धित समाचार