Logo

१५ असोज, वीरगञ्ज । महिलासँगको अवैध सम्वन्धका कारण पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएको रहस्य खुलेको छ । गाउँकै एक महिलासँग भएको अवैध सम्वन्धको कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

बाराको पचरौता नगरपालिका–१ टोल पिपरपाती बस्ने पूर्वसशस्त्र प्रहरी जवान ३३ वर्षीय अमरेश सिंहको शव गत असोज ८ गते बिहान टाउकामा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा नेपाल–भारत सीमा नजिकै फेला परेको थियो ।

उनको शव नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा गाउँकै अन्य परिवारका युवतीसँग अवैध यौन सम्बन्धको कारण सिंहको हत्या भएको बारा प्रहरीले जनाएको छ । युवतीका परिवारका सदस्यहरुले नै सिंहको हत्या गरेको प्रहरीको ठहर छ ।

हत्यामा संलग्न भएका तीन जनालाई घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पचरौता नगरपालिका–१ बस्ने श्यामलाल महतो, उनका छोरा लाल महतो र अवधेशकुमार महतो छन् ।

मृतक सिंह सशस्त्र प्रहरीमा केही समय काम गरेर जागिर छाडी गाउँमै रक्सी भट्टी सञ्चालन गर्दै आएका थिए । सो क्रममा उनको भारत पनि आउजाउ हुने गरेको थियो । उनी युवतीको चक्करमा लाग्ने गरेको अनुसन्धानको क्रममा खुलेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

सोही क्रममा पक्राउ परेका श्यामलालका परिवारको चेलीबेटीसित पनि अवैध यौन सम्बन्ध भएको थाहा पाएर श्यामलालले आफ्ना छोराहरूसित मिलेर घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए ।

परिवारको इज्जत जोगाउनका लागि नै हत्या भएको तथा फिल्मी शैलीमै योजना बनाएर सिंहको हत्या गरिएको तर शव मात्रै व्यवस्थापन गर्न अभियुक्तहरूले नसकेको काफ्लेले जानकारी दिए ।

‘सिंहले रक्सी भट्टी सञ्चालन गर्दै आएका थिए, अन्य महिला र केटीको चक्करमा लाग्ने मानिस पनि हुन् भनेर अनुसन्धानमा देखियो,’ उनले भने, ‘पक्राउ परेकाहरूको चेलीबेटीसित अनैतिक यौन सम्बन्ध भएकाले सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।’

घटनामा भारत पूर्वी चम्पारण मोतीहारी ग्राम पञ्चायत झझरा बस्ने राहुल कानु र उनलाई साहयोग गर्ने पचरौता नगरपालिका–१ कै श्यामलाल महतोका भाइ जागरित महतोको पनि संलग्नता देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

उनीहरू दुबै जना भने फरार रहेको तथा खोजी भइरहेको उनले बताए । प्रहरीले सिंहको हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार दाब, एक थान चक्कु र एउटा मोबाइलसमेत बरामद गरेको छ ।


सम्बन्धित समाचार