Logo

१६ असोज,वीरगञ्ज । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएका बताउनुभयो । अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो ।

सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा पनि खोप अभियान सञ्चालन गरेको थियो । अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा. गौतमले जानकारी दिनुभयो ।

नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।


सम्बन्धित समाचार