Logo

१७ असोज,जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई सहयोग र दवाव दुवै तर्फबाट साथ रहने बताएका छन् । बुधबार जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई सहयोगसंगै दबाब दिनु पर्ने बताएका हुन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रचण्ड सरकार राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताए ।
अध्यक्ष नेपालले भने, ‘पुष्पकमल दाहाल प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँले केही राम्रा काम पनि गर्न खोज्नु भएकै छ, तर त्यो पर्याप्त भएन ।

त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ र उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ ।’सत्ता गठबन्धनको तर्फबाट वर्तमान सरकारलाई सहयोगी भूमिका खेल्न तयार रहेको उनको भनाइ छ ।

उनले अहिले समाजमा धर्मको नाममा सामाजिक सद्भाव खल्बालाउने काम भइरहेको भन्दै उनले भने, ‘अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन् ।’

उनले अघि थप्दैँ भने, ‘धरान, सर्लाहीको मलंगवा र नेपालगंजमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ, यस्ता क्रियाकलपाहरु जुनसुकैको नाममा र आवरणमा भएपनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन् । यसले सामाजिक एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेकाले हामी सबै नेपाली एक हौँ भन्ने भावना साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु ।’

एकीकृत समाजवादीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्नका लागि समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए ।

उनले राजनीतिक क्रान्ति सफल भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादको मूल्य र मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमान्दार हुनुपर्ने बताए ।

एकीकृत समाजवादीले यही असोज १४ देखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ ।‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियान असोज २९ गते कञ्चनपुरमा पुगेर समाप्त हुने छ ।


सम्बन्धित समाचार