Logo

२० असाेज, वीरगञ्ज ।  बीरगन्ज छपकैयाँ वडा नम्बर १ की पुनम देबी हत्या प्रकरणको अनुसन्धान परिणाम उन्मुख बन्दै गएको छ ।

छपकैयाँकै सुनिल सर्राफलाई प्रहरीले हिजै पक्राउ गरेपछि अनुसन्धान प्रक्रियामा उनको संलग्नता संकेत देखिएको स्रोतको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार पुनम देबी हत्या प्रकरणमा सर्राफको पक्राउपछि प्रहरी अनुसन्धान ‘न्यारो डाउन’ तिर गएको छ । तैपनि अनुसन्धान भने निरन्तर चलिरहेको पर्सा प्रहरी बताउँछ ।

शुक्रबार पक्राउ परेका सर्राफलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।
प्रहरी स्रोतका अनुसार पुनम हत्याको अनुसन्धानमा अझ केही थप सबुत प्रमाण चाहिएको हुनाले सर्राफमाथि अनुसन्धान चलिरहेको छ ।

सर्राफ किन पक्राउ  ?

प्रहरी हिरासतमा रहेका सुनिल सर्राफ पनि मृतक पुनमकै वडा निवासी हुन् । सर्राफसंग पुनम देबीको ‘कनेक्सन’ तार कसरी जोडियो भने यी दुबैको एउटा वडाबासी हुन् । त्यति मात्र होइन, पुनम एक व्यवसायी पनि हुन । अर्थात् उनी ब्यूटिसियन हुन् ।

स्रोतका अनुसार मृतक पुनम आफ्नो ब्यूटिपार्लर सञ्चालन गर्दै बसिरहेकी थिइन् । उनले त्यो ब्यूटिपार्लर भने सर्राफकै घरमा भाडा लिएर सञ्चालन गरिरहेकी थिइन् । उनी सर्राफको घरमा भाँडा लिएर व्यवसाय गर्दै जाँदा पुनमको हिमचिम सर्राफसंग बढ्दै गएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीको भनाइ छ ।

सर्राफको यो हिमचिम प्रत्यक्ष भेटघाटमा मात्रै सीमित रहेन, उनको घरसम्म पुग्यो । अर्थात् सर्राफले फोन संवाद पनि बढाए ।
प्रहरीका अनुसार पुनम देबीको ‘कल डिटेल’ मा सर्राफको फोन नम्बरको सूचि पनि तारान्तारको छ । ‘कल डिटेल्स’का अनुसार सर्राफ मृतक पुनमको निरन्तर सम्पर्कमा रहेको देखिन्छ ।

यसरी ‘कल डिटेल्स’ को आधारबाट सुरु भएको प्रहरी अनुसन्धानले पहिलो चरणमै सर्राफलाई नियन्त्रणमा लियो । कारण– पुनमको मृत्यु हुनुभन्दा अगाडि सर्राफसंग कुरा भएको देखिन्छ । त्यसपछि प्रहरीले अनुसन्धानलाई ‘न्यारो डाउन’ तिर लैजान सुरुमा सर्राफलाई पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धान पनि यहीबाट सुरु भएको छ, तर यही आरोपित हो भनेर प्रहरी अनुसन्धान भने टुंगो लागी नसकेको अवस्था छ । किनकी, अहिलेसम्म सर्राफले ठोस बयान दिन सकेका छैनन् ।

प्रहरीको बुझाइमा सर्राफले हत्यालाई अझ जटिल बनाउँन खोजिरहेका छन् । तर त्यसको बाबजुद पनि हरेक कोणले प्रहरी अनुसन्धान जारी रहेको प्रहरी भनाइ छ । अनुसन्धानमा चाँडै नतिजा आउने गरी काम भइरहेको पर्सा प्रहरीको दाबी छ ।

मृतक पुनम देबीको शुक्रबार विहान हत्या भएको हो । उनको टाउँकोमा प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


सम्बन्धित समाचार