Logo

२४ असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

हिजो मङ्गलवार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी आज बुधवार समितिले पारित गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुने गरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट पाँच किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालीन प्रचलित कानुनअनुसार तीन किलोमिटरको सीमाबाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने तर तत्कालीन अवस्थामा तीन किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आउँदो तीन वर्षभित्रमा पाँच किलोमिटरको सीमाबाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको समिति सभापति सुवेदीले बताउनुभयो ।

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताउनुभयो ।


सम्बन्धित समाचार