Logo

२५ असोज,वीरगञ्ज । मधेश प्रदेशमा नेकपा एमालेको जारी अधिवेशनले आजदेखि नेतृत्वमा चयनमा अगाडि बढेको छ ।बुधबारदेखि जनकपुरमा महेन्द्रनारायण स्मृति भवनमा एमालेको प्रदेश अधिवेशन जारी छ ।

उद्घाटन सकिए लगत्तै बुधबार राति ८ बजेदेखि नै बन्दसत्र सुरु भएको थियो । राति १० बजेसम्म चलेको बन्द सत्रले आर्थिक र राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
बन्द सत्रले मधेशको नेतृत्व चयनका लागि प्रदेश इन्चार्ज समेत रहेका एमाले सचिव योगेश भट्टराईको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरेको छ ।

जिल्लागत रुपमा पार्टीले प्राप्त गरेको समानुपातिक मत र पार्टी सदस्य संख्यालाई आधार मानेर मधेशका ८ वटै जिल्लालाई निर्वाचनमा भाग लिने र उम्मेदवार बन्न पाउने सदस्य संख्या निर्धारण गरिएको एमाले मधेश प्रदेशले जनाएको छ ।

दलित, मुस्लिम, युवा, आदिवासी, जनजाति र महिलाको समावेशी प्रतिनिधित्व हुने गरी सबै जिल्लाको प्रतिनिधि संख्या निर्धारण गरिएको हो । सहमतिमा नेतृत्व चयन नभए छनोट भएका प्रतिनिधि नै निर्वाचनमा उम्मेदवार बन्न र मतदानमा भाग लिनेछन् ।

माहोल हेर्दा सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन हुने सम्भावना कम देखिन्छ,’ एमाले मधेश प्रदेशले भन्यो, ‘आज दिउँसो चार बजेसम्म पनि सर्वसम्मत रुपमा पार्टी नेतृत्व चयन नभए निर्वाचन प्रक्रिया सुरु हुने छ।’
एक नेताका अनुसार अध्यक्षमा दाबी गर्ने नेताहरुको संख्या धेरै भएकाले सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको हो ।

एमालेको मधेश प्रदेश कमिटी दुई सय १० सदस्यीय हुने छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित पाँच सदस्यीय पदाधिकारी र बाँकी सदस्य रहनेछन् । प्रदेशको नेतृत्वमा आउन आधा दर्जनजति नेताले रुचि देखाएका छन्।

पर्साका विचारी यादव वा धनुषाका राजकिशोर यादव मध्येबाट एकजनालाई अध्यक्ष बनाउने पक्षमा सर्वसम्मत गराउने प्रयास गरिरहेका एक नेताले बताए ।


सम्बन्धित समाचार