Logo

२५ असोज, काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका छन् । न्यायपरिषद्को बैठक बस्न समस्या भएपछि प्रधानन्यायाधीशले जिल्ला न्यायाधीशको काज सरुवा गराएका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार खाली भएका स्थान र दरबन्दी धेरै भएको तर इजलास तयार नभएका अदालतबाट अन्य अदालतमा न्यायाधीशहरुको काज सरुवा भएको हो । केही न्यायाधीशको भने अवधि पुगेको कारण काज सरुवा भएको हो । न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ अमेरिकामा रहेका कारण न्याय परिषद्को बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला न्यायाधीशहरुको काज सरुवा गरेका हुन् ।

सरुवा भएका न्यायाधीशहरुमा न्याय परिषद् काजमा रहेका न्यायाधीश भुवनसिंह थापालाई रसुवा जिल्ला अदालतमा काज सरुवा गरिएको छ । यसअघि बिरामी भई उपचारका लागि न्याय परिषद् काजमा बसेका थापालाई आगामी कात्तिक २ गतेबाट अवकाशमा जान लागेका न्यायाधीश रामच्रनद्र पौडेलको स्थानमा सरुवा गरिएको हो ।

त्यसैगरी प्रधानन्यायाधीश श्रेष्ठले चितवनका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई महोत्तरी, रौतहटका नवराज दाहाललाई कास्की, रुपन्देहीका कृष्णकुमारी शिवाकोटीलाई भक्तपुर, बाँकेका देवकुमार गिरीलाई झापा जिल्ला अदालतमा सरुवा गरिएको छ ।

त्यस्तै नवलपरासीका रमेश शर्मा पौडेललाई सिन्धुली, भक्तपुरका तीर्थराज केसीलाई काठमाडौँ, धनुषाका भिष्मराज प्रसाईलाई बाँके, मुस्ताङका इश्वर पराजुलीलाई रुपन्देही र ललितपुरका हरिकृष्ण श्रेष्ठलाई धनुषा जिल्ला अदालतका काज सरुवा गरिएको हो ।

अन्य न्यायाधीशहरुमा विश्वनाथ भट्टराईलाई पर्साबाट काभ्रेपलाञ्चोकमा, रोमनाथ अधिकारीलाई मोरङबाट कपिलवस्तु, रिताकुमारी बख्रेललाई काभ्रेबाट ललितपुर, रोमाकान्त ज्ञवालीलाई स्याङ्जाबाट धनुषा, ओम बहादुर सोडारीलाई झापाबाट मुस्ताङ र विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ ।

सर्वोच्च अदालतले उनीहरुमध्ये केहीको अवधि पुगेको, केही स्थानमा खाली रहेको कारण सरुवा गरेको र केही स्थानमा इजलास तयार नभएको कारण अर्को जिल्लामा पठाएको बताएको छ ।


सम्बन्धित समाचार