Logo

२६ असोज,वीरगञ्ज । बारा जितपुर सिमरा उपमहानगरपालिका पूर्वमेयर डा. कृष्ण पौडेलको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन ।हिजो (बिहीबार) साझ आफ्नै घरमा मृत अवस्थामा फेला परेका पूर्वमेयर पौडलेको कसरी मृत्यु भयो सबैको चासोको विषय बनेको छ ।

मृत्युबारे अहिलेसम्म यथेष्ठ प्रमाण फेला नपरेपछि त्यसको अनुसन्धानमा प्रहरी लागिपरेको छ । बारा प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदा पूर्वमेयर पौडेलको मृत्यु भवितव्य हो वा अन्य केही कारणले भएको हो भनी निक्र्योल निकाल्न सकेको छैन ।

बारा प्रहरी प्रमुख सुरेश काफ्ले भन्छन्,‘घटनाबारे जानकारी आएपछि मुचुल्का उठाउँन हाम्रो टोली त्यहाँ पुग्यो, साथै डाक्टरलाई पनि संगै लिएर गएका थियौं । तर त्यहाँको घटनास्थलको अनुसन्धान गर्दा कसैले मारेको हो वा आत्महत्या नै हो भनी त्यस्तो ठोस प्रमाण फेला परिनसकेको अवस्था छ । पोष्टमार्टम रिपोर्ट नआइपुग्दासम्म केही भन्न नसकिने अवस्था छ ।’
प्रहरीसंगै घटनास्थलमा पुगेका चिकित्सकहरुको टोलीको जाँचमा पौडेलको मृत्यु २४ घण्टा अगाडि नै भएको पाइएको हो ।

तर अहिलेसम्म मृत्युको कारणबारे यकिन भइनसकेको अवस्था रहेको बारा प्रहरीको दाबी छ । प्रहरीका अनुसार नारायणी अस्पतालमा उनको पोष्टमार्टम भइसके पनि रिपोर्ट आउन बाँकी रहेको छ । पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै त्यसपछिको अनुसन्धान अगाडि बढ्ने बारा प्रहरीको भनाइ छ ।

घटनास्थलबाट बरामद मोबाइलको ‘स्वीच अफ’ किन ?
शवको मुचुल्का उठाइरहँदा घटनास्थलबाट बारा प्रहरीले तीन वटा मोबाइल बरामद गरेको छ । प्रहरीका अनुसार बरामद तीनवटै मोबाइल मृतक पौडेलकै रहेको खुलेको छ ।
तर बरामद तीन वटा मोबाइलमध्ये २ वटा अफ रहेको पाइएपछि प्रहरीमा तरंग पैदा गरदिएको छ । मोबाइल अफ रहेको अवस्थामा फेला परेपछि अहिले प्रहरीलाई शंकास्पद मात्रै बनाएको छैन, प्रहरी अनुसनधान पनि त्यहीबाट सुरु गर्न बाध्य बनाइदिएको छ ।

बारा प्रहरीका अनुसार बरामद तीनवटा मोबाइलमध्ये २ वटाको स्वीच अफ र एउटा ‘साइलेन्ट मोड’ पाइएपछि अहिले ती मोबाइललाई आफ्नो नियन्त्रणमा लिइ अनुसन्धान चलिरहेको छ ।
‘ब्याट्री’ सकेर अफ भएको हो वा अन्य कुनै कारणले अफ भएको त्यसको बारे सूक्ष्म अनुसन्धान चलिरहेको बारा प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा पूर्वमेयर पौडेल केही समययता एक्लै बस्दै आएका थिए । श्रीमतीसंगै बाहिर गएका पौडेल घरमा एक्लै फर्केको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बारा प्रहरीका अनुसार मृतक पौडेल यही २३ गतेदेखि घरमा एक्लै बस्दै आइरहेका थिए ।

घरमा श्रीमती आएर बन्द रहेको ढोका फोडेपछि पौडेल मृत अवस्थामा लडेको अवस्थामा भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पौडेलको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको पाइएको छ ।

 


सम्बन्धित समाचार