Logo

२७ असोज,जनकपुर । संघीय राजधानी काठमाडौँ स्थित माइतीघरमा लामोसमयदेखि न्याय माग्दै आन्दोलित रहेका आरती साहका परिवारलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अधिकारीहरुको तस्विर अंकित ब्यानर हटाउनका लागि प्रहरीले बलप्रयोग गर्नुपरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

छोरी आरतीको हत्यारामाथि कारबाहीको माग गर्दै साह परिवार १ सय २१ दिनदेखि माइती घरमा अनसनमा बस्दै आएका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आरतीका बुबा विनोद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई पक्राउ गरेको जनाएका छन् ।

उनले जनाए अनुसार तीनै जनालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । उनी आन्दोलित हुँदा देखि नै धनुषा प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमलाई कारबाहीको माग गर्दै तस्बिर समेत प्रदर्शन गर्दै आएका छन् । तर प्रहरी उपरीक्षक खड्का र प्रहरी नायब उपरीक्षक गौतमले आफूहरुको तस्बिर राखेर सामाजिक बेइज्जती गरेको भन्दै हटाउन गृह मन्त्रायमा निवेदन नै दिएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक खड्का र प्रहरी नायब उपरीक्षक गौतमले दिएको निवेदन अनुसार गृह मन्त्रालयले प्रहरी परिचालन गरी तस्विर अंकित ब्यानरलगायतका सामग्रीहरु हटाउन भनेपछि प्रहरीले परिचालन गरिएको थियो । सोक्रममा पीडितहरुले सो ब्यानर हटाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर हटाउँदै अनसनकारी पीडितहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ८ की आरती साहको गत जेठ ७ गते श्रीमानसहितका परिवारजनले हत्या गरेको आरोप छ । छोरी आरतीको हत्या भएको भन्दै साह परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, ससुरा मदनमोहन, सासू रेणु देवी र देवर रवि साहविरूद्ध जाहेरी दिएपनि प्रहरीले दर्ता गर्न मानेनन् ।

पीडित परिवारले धनुषाका प्रहरी उपरीक्षक खड्का र धनुषाका प्रहरी नायब उपरीक्षक गौतमले जाहेरी लिन नमानेपछि उनीहरु प्रहरी विरुद्धपनि आन्दोलन गरे । सोही क्रममा जिल्ला प्रहरी कार्यालयमा प्रहरीले आरतीकी बहिनी र उनका परिवारजनमाथि प्रहरीले बलप्रयोग गरी कुटपीटसमेत गरेको आरोप लगाए । पीडित परिवारजनले धनुषा प्रहरीले आरती हत्या प्रकरणको मुद्दा दबाउन पीडकसँग घुस लिएको हुनाले मुद्दा दर्ता नगरेको आरोप लगाउँदै काठमाडौँ स्थित माइत घरमा धर्ना दिँदै अनसनसम्म बस्दै आएका छन् ।

काठमाडौँ स्थित माइत घरमा १२१ दिनदेखि धर्नामा बस्दै आएका आरती साहका परिवारजनले न्याय नपाएपनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक खड्का र तत्कालिन प्रहरी नायब उपरीक्षक गौतममाथि भने प्रश्न खडा भएको छ ।

यता पीडितहरुको दबाबपछि धनुषा प्रहरीले मृतक आरतीका श्रीमान र ससुराविरुद्ध आत्महत्या दुरूत्साहन र कर्तव्य ज्यानको कसुरमा उजुरी दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
धनुषा जिल्ला अदालतलाले आरतीका श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाएका थिए । यता आरोपीहरुको निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले साधारण तारेखमा रिहा भएका छन् ।


सम्बन्धित समाचार