Logo

६ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को शनिबार सकिएको २०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिबाट चुनिएको सर्वोच्च नेता तथा पार्टी महासचिव सी जिनपिङको नयाँ कोर टीम आइतबार सार्वजनिक भएको छ ।

पार्टीको केन्द्रीय समितिबाट चयन हुने सात जनाको उक्त पोलिटब्यूरो स्थायी समितिमा नयाँ चार नेता थपिएका छन् ।

आइतबार सार्वजनिक भएको सीको उक्त टीमबाट अब देशका प्रधानमन्त्री र राष्ट्रिय जनकांग्रेसका अध्यक्ष समेत परिवर्तन हुनेछन् । आगामी मार्चमा पविर्तन हुने उल्लेखित पदहरूमा अब को रहनेछ भन्ने पूर्वानुमान गर्न सकिने भएको छ ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको नयाँ पोलिटब्यूरो स्थायी समितिमा महासचिव सी जिनपिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।

यसअघि १९औं राष्ट्रिय महाधिवेशनको वरीयता र अहिलेको वरीयतालाई तुलना गरेर नयाँ सरकारका पदाधिकारीहरूको अनुमान गर्न सकिन्छ ।जस अनुसार अब ली चियाङ चीनका प्रधानमन्त्री हुनेछन् छन् भने तेस्रो स्थानका चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात् संसदको अध्यक्ष हुनेछन् ।

त्यस्तै काइ ची पार्टी सचिवालयको प्रथम सेक्रेटरी र वाङ हुनिङले सल्लाहकार समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । ली सी भ्रष्टाचारविरोधी केन्द्रीय आयोग र अनुशासन आयोग प्रमुखको जिम्मेवारीमा रहनेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले केन्द्रीय सैन्य आयोग (सीएमसी) को उपाध्यक्षको जिम्मेवारी ७२ वर्षीय चाङ योसियालाई दिने भएको छ । पार्टी महासचिव स्वयं अध्यक्ष रहेको उक्त शक्तिशाली आयोगको नेतृत्व पाउन लागेका चाङ सर्वोच्च नेता बनेका सीका विश्वास पात्र मानिन्छन् ।

यो आयोग चीनको सम्पूर्ण सैन्य र सुरक्षासम्बन्धी कार्यहरूको निर्णायक निकाय हो । यस मातहत चिनियाँ जनमुक्ति सेना र प्रहरी दुवै रहन्छन् । यसलाई सैनिक नीति निर्माण तथा कार्यान्वयन गराउने निकायका रूपमा चिनिन्छ ।


सम्बन्धित समाचार