![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/WhatsApp-Image-2023-10-20-at-4.33.40-PM.jpeg?fit=1200%2C668&ssl=1)
३ कात्तिक,ठोरी । नेकपा माओवादी केन्द्र ठोरीले दशैं, तिहार , छठ पर्व एवम् न्हुदँया भिन्तुनाको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ठोरी गापा –३ , ब्रम्हानगरमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै गत असोज पहिलो साता काठमाडौंमा भएको शिक्षक आन्दोलनमा सहभागी शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शिक्षकलाई सम्मान गर्न नसके शिक्षाको क्षेत्रमा विकास गर्न नसकिने विचार व्यक्त गरे। शिक्षकका जायज मागहरु राज्यले सम्बोधन गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विजय महत्तोले विद्यालयमा सबै किसिमका बालबालिकाहरु पढ्न आउने भएकोले शिक्षकप्रति सबैको चासो रहनु स्वभाविक भएको बताए ।
उनले शिक्षाको गुणस्तरप्रति सबैले ध्यान दिनुपर्ने बताए ।
यस्तै सो अवसरमा ठोरी गापाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठले वास्तवमा शिक्षण पेसाको सम्मान हुन नसकेकोले शिक्षक , अभिभावक र स्थानीय सरकारको सुदृढ सम्बन्धले मात्र शिक्षामा अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताए ।
कार्यक्रममा ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन , नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ , उपाध्यक्ष गोपिलाल श्रेष्ठ , शिक्षक संघका अध्यक्ष बिदुर सापकोटा , पुर्व अध्यक्ष चिरञ्जीवी सापकोटा , राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रन्जित कार्की , प्रधानाध्यापकहरु नारायण लामा , सोम बहादुर दोङ लगायत माओवादी केन्द्रका उपाध्यक्ष , वडा कमिटी अध्यक्षहरु एवम् पार्टी सम्वद्ध पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
माओवादी केन्द्र ठोरीका अध्यक्ष सुर्य बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठोरीका विभिन्न विद्यालयका शिक्षक एवम् सो पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।