Logo

७ कात्तिक, काठमाडौं । इजरायल–हमासबीच जारी युद्धका बीच आतङ्कवादी समूह हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजरायलले बताएको छ। रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज रहेका छन्।

समाचारअनुसार मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकप्टर तेल अविवमा इचिलोभ अस्पतालको छतमा अवतरण भएको थियो। अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दि टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै इजरायली मेडिकल सेन्टरमा पुगेपछि दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ।

नर्सका अनुसार दुवै बन्धकको आफ्ना परिवारसँग भावनात्मक पुनर्मिलन भयो। मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुन सक्छ।

यसअघि हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यहरूलाई सुम्पिँदै गरेको देखाइएको थियो। भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीहरूको हात पकडेर अस्थिररूपमा हिँडिरहेको देखिन्छ। ती नकाबधारीहरूले उनीहरूलाई नास्ता र पेय पदार्थ पनि दिइरहेका हुन्छन्। दि टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाईको स्वागत गरेको र बाँकी बन्धकहरूको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन्। अझै दुई सय जना बन्धक रहेको बताइएको छ।

सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो। सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ। एजेन्सी

 

#इजरायल-हमास युद्ध अपडेट


सम्बन्धित समाचार