Logo

१० कात्तिक,वीरगञ्ज । पाँच दिन अगाडि प्रहरीले आफ्नो वडाअध्यक्षलाई दुव्र्यहार गरेको भन्दै पर्सा कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरेको भन्दै कारबाहीको माग गर्दै पर्सा कांग्रेसले सिडिओलाई ज्ञापन पत्र बुझाएको हो ।

कांग्रस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अगुवाइमा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ,‘वडाअध्यक्ष महर्जनले दुर्गा पुजा आराधना गरिरहेका थिए, तर सइ साह दुर्गा पुजालाई बन्द गर्न चेतावनी दिए । त्यहीँ बेला वडाअध्यक्षले धार्मिक कार्यमा अवरोध नगर्न आग्रह गरे, तर त्यो आग्रहलाई बेवास्ता गरी प्रहरीले वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्‍यो । जसबाट उनको आँखामा चोट लाग्यो ।’

वडाअध्यक्ष महर्जन अहिले उपचारको क्रममा नै रहेको जनाउँ गर्दै कांग्रेस पर्साले कुटपिट गर्ने प्रहरी चौकीका इन्चार्ज रविन्द्र साह तुराहालाई कारबाहीको माग गरेको हो ।
नगवा प्रहरी चौकीका इन्चार्ज तुराहालाइ सात दिनभित्र कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस पर्साले ज्ञापन पत्रमार्फत चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनाबारे छानविन गरेर आवश्यक अनुसनधान गर्ने आश्वासन दिए ।
उनले भने,‘घटनाको वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढाइन्छ, प्रहरी प्रमुखसंग समन्वय गरेर जसले गल्ती गरेपनि त्यसमाथि समिक्षा गरेर कारबाहीको प्रक्रिया बढ्छ ।’

यही ५ गते वडाअध्यक्ष महर्जन र नगवाका प्रहरी इन्चार्ज तुराहाबीच विवाद भएको थियो । रक्सी सेवन गरेर विवाद गरेको भन्दै पर्सा प्रहरीले वडाअध्यक्ष महर्जनलाई रातभर थुनामा राखेको थियो । त्यसपछि विहान आफन्तको जिम्मा वडाअध्यक्ष महर्जनलाई छाडिएको थियो ।


सम्बन्धित समाचार