Logo

१२ कार्तिक, वीरगञ्ज । सीमावर्ती नेपाल र भारतको सुरक्षा व्यावस्थाको लागि वीरगंज–रक्सौल आसपासको नेपाल–भारत सुरक्षा बैठक वीरगंजमा सम्पन्न भएको छ । नेपालका पर्सा र बारा तथा भारत, बिहारका पूर्वी चम्पारण र पश्चिमी चम्पारणका सुरक्षा अधिकारीलगायत विभिन्न सरोकारवाला निकायको सुरक्षा बैठक शनिबार वीरगंज भन्सार आइसिपीको सभाहलमा सम्पन्न भएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न सुरक्षा बैठकले ६ बुँदे निर्णय गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले अवैध निकासी, पैठारीलाई नियन्त्रण गर्ने, लागूऔषध ओसारपोसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपोसारलाई न्यूनीकरण गर्ने, आपराधिक घटना हुन नदिने, सीमा क्षेत्रबाट हुने अवैध वन्यजन्तुको चोरी शिकारी एवं तस्करीलाई समेत नियन्त्रणमा लिने निर्णय गरेको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

बैठकले भारतमा हुने आगामी लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धलाई समेत चुस्तदुरुस्त बनाउने, नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच सहकार्यमार्फत प्रभावकारी सुरक्षा व्यवस्था बनाउन पहल गर्ने निर्णय भएको छ । बैठकमा नेपालतर्फबाट पर्साका प्रजिअ रेग्मी र बिहारको पूर्वी चम्पारणका डिएम सौरभ जरुवालले नेतृत्व गर्नुभएको थियो ।

बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, पश्चिमी चम्पारणका डिएम दिनेशकुमार राय, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान, वीरगंज भन्सार, श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकारी, डिभिजन वन कार्यालय पर्सा, पर्सा राष्ट्रिय निकुञ्जका अधिकारी, भारतीय प्रहरीका उच्च अधिकारी, एसएसबीका उच्च अधिकारी, रक्सौल कस्टमका अधिकारी लगायतको सहभागिता थियो ।

सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा भोगीरहेका समस्याका सम्बन्धमा पनि शनिबार भएको सुरक्षा बैठकमा सरोकारवालाबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आयोजना गरेको बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवम् संरचनागत समस्याका सम्बन्धमा छलफल भएको हो ।

बैठकमा दुई देशको बीचमा व्यवसायीहरुले सामान ओसार पसार र उद्योग व्यवसायीको प्रवद्धन गर्ने बिषयमा छलफल भएको हो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपाल भारत सीमाक्षेत्रमा रहेका रक्सौल तथा वीरगंज नाकासंग सम्बन्धीत वीरगंज भन्सार तथा आईसीपी खोल्ने समय बिहान ५ बजे देखी राती ११ बजे सम्म गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

चेकिङ प्वाइन्टलाई एक ठाँउमा मात्र राख्नु पर्ने, आईसीपीबाट यात्रीहरुलाई आवागमन गर्न दिनुपर्ने, भारतको नजिकको राष्ट्रिय र अन्तराष्ट्रिय बिमानस्थलका साथै नजिकका ठुला रेल्वे स्टेशनमा नेपाली चार चक्के सवारी साधनलाई पासको ब्यवस्था हुनुपर्ने सुझाव दिनुभएको थियो । बैठकमा भारतीय पक्षहरुबाट अगामी दिनहरुमा यसलाई सुभार गरि र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष र रक्सौल वीरगंज उद्योग वाणिज्य संघका अध्यक्षबीच व्यापार, व्यावसायमा देखिएका समस्याहरु र त्यसलाई न्युनिकरण गर्न गर्नुपर्ने भन्ने विषयमा समेत बैठकमा राखिएका थिए । उद्योग व्यवसायीहरुको प्रवद्धनका लागि भोग्नु परेको समस्याका सामाधान गर्नका लागि प्रतिवेदन त्यार गरि सम्बन्धीत निकायमा बुझाउने बैठकमा निर्णय गरिएको छ। छलफलमा बीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार