Logo

१२ कार्तिक, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा  पर्सामा चुलिएको विवाद अझै सुल्झिएको छैन । जसपाको प्रदेश समितिले पर्सामा गठन गरिएको समानान्तर समिति विधानविपरीत रहेको निर्णय गरेपनि सिंगासन साह नेतृत्वको समितिले त्यसलाई बेवास्ता गरेको पाइएको छ ।

जसपा प्रदेश समितिको निर्णय अनुसार अहिलेसम्म पर्सामा रामनरेश यादव नेतृत्वको पार्टी नै आधिकारिक देखिएको छ । तर त्यसको बाबजुद पनि पर्सामा भने जसपाले दुइ बेग्लाबेग्लै समिति खडा गरेर सांगठनिक गतिविधि गरिरहेको घटनाक्रमले देखाइरहेको छ ।

त्यसका पछिल्ला दुइ यस्ता उदाहरण छन् ।

पहिलो हो, प्रदेश समितिबाटै आधिकारिताको मान्यता पाएका यादवको समूहले दशैंको अवसर पारेर गएको ४ गते शुभकामना अदानप्रदानको कार्यक्रमको आयोजना गरेको थियो, जसमा जसपाका अधिकांश नेता कार्यकर्ताको सहभागिता थियो । दोस्रो हो, त्यसपछि समानान्तर समिति गठन गरेका तेली समूहले भने आउने १५ गते त्यहीँ शैलीमा शुभकामना अदानप्रदानको कार्यक्रम आयोजना गर्दैछ ।

यसरी प्रदेश समितिले अर्को समानान्तर समिति अवैधानिक रहेको जनाइरहँदा पनि तेलीको नेतृत्वको समूहले भने त्यसको बेवास्ता गर्दै जसपाको हैसियतमै कार्यक्रम गर्न थालेपछि प्रदेश समितिको निर्णयमाथि प्रश्न चिन्ह खडा भइरहेको छ ।
कारण–प्रदेश समितिको निर्णय किन लागू भइरहेको छैन, सबैको चासोको विषय बन्दै गइरहेको छ । विधान अनुसार चल्ने पार्टीले त्यहीँ विधानलाई टेकेर गठन भएको प्रदेश समितिको निर्णयलाई चुनौती दिएपछि यो गतिविधि अर्थपूर्णरुपमा हेर्न थालिएको छ ।

जानकार भन्छन्–जसपा पर्साबाट संघीयतामाथि धाबा बोल्ने गतिविधि थालनी भएको छ, त्यसकारण पर्साको विवाद सुल्झिरहेको छैन । पर्सा पार्टी अध्यक्ष रामनरेश यादव नै आधिकारिक रहेको प्रदेश समितिले निर्णय गरेको छ । प्रदेश समितिको गएको १६ गतेको बैठकले रामनरेश यादवको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक रहेको निर्णय गरेको थियो ।

त्यो निर्णयमा भनिएको छ– ‘१० असोजमा पर्सा जिल्ला कार्यसमितिको समानान्तर समिति विधान समेतविपरीत गठन भएको निर्णय भएको छ, यसको साथै जिल्लामा देखिएको आन्तरिक समस्या हलका लागि भने ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।’ प्रदेश समितिले यसरी प्रष्टरुपमा निर्णय गरेपनि जिल्लाको विवाद भने जिउँकात्यूँ छन् । आफू नै पार्टीको आधिकारिक अध्यक्ष रहेको भन्दै सिंगासन साह तेलीको नेतृत्वमा गठित समानान्तर समितिले भने आफ्नो बेग्लै कार्यक्रम गर्न थालेपछि विवाद सतहमा मात्रै आएको छैन, पार्टीभित्रको चरम विवाद छताछुल्ल भएको हो ।

किन विवाद समाधान भइरहेको छैन ?

प्रदेश समितिको निर्णय किन कार्यान्वयन भइरहेको छैन रेसखबरले तेली र यादवसंग लिएको प्रतिक्रियामा दुबैजनाको आ–आफ्नै दाबी छ । समानान्तर समितिका अध्यक्ष तेलीले प्रदेश समितिले अहिलेसम्म कसैलाई आधिकारिताको प्रमाण पत्र नदिएको दाबी गरे । उनले भने,‘हाम्रो समिति पनि बहुमतले बनेको छ, विधान अनुसार छ । तर प्रदेश कमिटिले बनाएको कार्यदल जिल्लामा आएर छलफल गरेर जे निर्णय गर्छ, त्यो मान्छौं। तबसम्मका लागि हामी नै आधिकारिक हौं ।’ उनका अनुसार पार्टीको विधान अनुसार अहिलेसम्म दुबै समिति अनाधिकृत हो ।

यता रामनरेश यादवको समूहले भने धाधलीपूर्ण तरिकाले काम गरिरहेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘हाम्रो समिति २ वर्ष पहिला नै बनेको हो, नयाँ विधान भने यही साउनदेखि लागु भएको छ । अनि कसरी गलत भयो रु त्यसकारण जिल्लाका केही नेताहरुको यो बदमासी मात्रै हो, जसले पार्टीलाई कमाइ खाने भाँडो बनाउने गर्छन् ।’ मेरो समितिले नियम संगत काम गरिरहेको हुनाले त्यस्ता प्रवृतिका नेताहरुलाई ग्राहो हुन थालेपछि यो हत्कण्डा सुरु भएको हो,’ उनले भने । जसपाले जारी गरेको नयाँ विधानअनुसार अहिले ५८ सदस्यीय जिल्ला कार्य समितिको गठन गर्नुपर्ने प्रावधान छ । यही प्रावधानलाई आधार बनाएर तेलीसमूहको नेतृत्वले विवाद खडा गरेको अध्यक्ष यादवको आरोप छ । तर यो विवाद आधारहीन रहेको उनको तर्क छ ।

रामनरेश यादवको नेतृत्वमा रहेको जिल्ला कमिटि तदर्थ समिति रहेको भन्दै सांसद प्रदीप यादवको समूहले तेलीको नेतृत्वमा अर्को समानान्तर समिति गठन गरेको छ ।


सम्बन्धित समाचार