Logo

१४ कार्तिक, जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही कात्तिक २२ गतेबदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।
यस अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा विश्वका २५ राष्ट्रका आयुर्वेदका विज्ञ, चिकित्सकहरुको सहभागिता रहने जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने ब्रह्मभुमी हेल्थ रिसर्च सेन्टरका प्रतिनिधि, सम्मेलन आयोजक तथा व्यवस्थापनसमेत रहेका संयोजक डा. राकेशकुमार सिंहले जानकारी दिए ।

ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, अष्ट्रेलिया, जर्मनीसहितका अधिकांश युरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा। सिंहले बताए ।

माता जानकीको हजुरबुबा निमी आयुर्वेदका आँखा, कान र घाँटीका विशेषज्ञ भएको कारणले आयुर्वेदमा निमीतन्त्रको ठुलो महत्त्व भएको कारणले जनकपुरधाममा अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक जनकपुरधाममा गर्न लागेको उनले बताए ।

तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय सम्मेलनमा आयुर्वेदका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिने छ ।

यस सम्मेलनमा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तुसहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।


सम्बन्धित समाचार