Logo

१५ कार्तिक,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जीतपुर बजारबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह, ५० वर्षीय अफताव आलम, वीरगन्ज महानगरपालिका ३२ का ४० वर्षीय विनोद पंजियार र ५२ वर्षीय मोती साह रहेका छन् ।

प्रहरीले जीतपुरका स्थानीय लालबाबु साहको घरमा जुवा खेलिरहेको अवस्थामा नगद रकम, मोबाइल र मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । ५० हजार नेपाली रुपैयाँ, ३ थान ठुलो र १ थान सानो मोबाइल, २ वटा मोटरसाइकल र केही भारतीय रकमसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका ५ जनालाई म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जुवाडेहरूलाई छुटाउन चौतर्फीबाट दबाब आएको छ, तर कानुन विपरीत काम गर्नेलाई प्रहरीले नछाड्ने उहाँले बताउनुभयो ।

साहको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले यसअघि पनि सम्बन्धित व्यक्तिलाई पटकपटक सचेत गराएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार