Logo

सञ्चारकर्मीहरुसंग कुरा गर्दै मृतकका दाइ भोला सर्राफ

१५ कात्तिक,वीरगञ्ज । तीन दिन अगाडि बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको भन्दै ५ जनालाई पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ ।

बारा प्रहरी प्रमुख सुरेश काफ्लेले आज पत्रकारसम्मेलन गरी २ जना भारतीयसहित ५ जनालाई सार्वजनिक गरेका हुन् ।
प्रहरीले हत्यामा सहयोगी भूमिका रहेको भन्दै भारत विहार घोडासहनका अभिनव कुमार राजपुत, चन्दन कुमार र बारा कलैयाका रियाज अन्सारी तथा जामिल अख्तर तथा पे्रमिका भनिएका राधा गुप्तालाई सार्वजनिक गरेको हो ।

प्रहरी प्रमुख काफ्लेले पक्राउ परेकाहरु सहयोगी भूमिका मात्रै रहेको र मुख्य सुटरहरु भने फरार रहेको बताएका छन् ।
पक्राउ परेकाहरुमध्ये भारतीय दुबैजना ‘मुख्य सुटर’ नभएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए । उनका अनुसार पक्राउ परेका भारतीयहरु मुख्य सुटरलाई सूचना अदानप्रदान गर्ने काम मात्रै गरिरहेका थिए । तर मुख्य सुटर भने अहिलेसम्म पक्राउ परिनसकेको उनले जनाए ।

उनले भने,‘घटनामा सहयोगी भूमिका निर्वाह गर्नेहरु अहिलेसम्म पक्राउ परेका छन, बाँकी मुख्य योजनाकार र सुटरको खोजी भइरहेको छ । त्यो समातिएपछि फेरि हामी अन्तिममा पत्रकारसम्मेलन गरेर जानकारी गराउँछौं ।’यही सोमबार कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि भएको गोली प्रहारले मृत्यु भएको हो ।

मुख्य योजनाकार अझै फरार

हत्या भएको तीनदिन पछाडि प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्‍यो, त्यो पनि अनुसन्धान टुंगिएको भनेर ।
तर पत्रकारसम्मेलन गर्दा मुख्य योजनाकार भन्दा सहयोगीहरुलाई मात्रै सार्वजनिक गरियो । किनभने प्रहरीले पत्रकार सम्मेलनमा गोली यी हुन गोली हान्नेहरु भनेर ४ जना नाम नै सार्वजनिक गर्‍यो ।

मोतिहारी जिल्ला दर्पा थानाका सुजित कुमार सिंह, चन्दन पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी मुख्य सुटर रहेको भन्दै यी ४ जनाको नाम प्रहरीले सार्वजनिक गर्‍यो, तर यिनीहरु अहिलेसम्म फेला पर्न नसकेको जनायो ।

तरपनि सबैको खोजी कार्य भने जारीरहेको प्रहरी बताउँछ । चाँडो भन्दा चाँडो हामी मुख्य अपराधीलाई पक्रिने तयारीमा रहेको प्रहरी प्रमुख काफ्लेको दाबी छ ।
अनुसन्धान फितलो ?
स्वर्णकारण हत्याकाण्ड भएको तीन दिन भइसकेको छ । ९९ प्रतिशत अनुसन्धान नजिक रहेको बताउँने प्रहरीले अहिलेसम्म मुख्य सुटरलाई पक्राउ गर्न छैन ।

कारण– पत्रका सम्मेलनमार्फत अहिलेसम्म सहयोगीहरु मात्रै पक्राउ गरिएको भनिएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा न त मुख्य सुटरलाई सार्वजनिक गरियो नत मुख्य योजनाकारलाई नै । गरियो त केवल सूचना आदानप्रदान गर्नेहरुलाई र मृतकको स्कुलका शिक्षकहरुलाई ।

यद्यपि, शिक्षकहरुलाई पनि बिना प्रमाण साबिकी बयानको आधारमा मात्रै पक्राउ गरिएको प्रहरी बताउँछ । त्यो पनि प्रेमिका भनिएका राधा गुप्ताको बयानको आधारमा जसले स्वर्णकारमाथि गोली प्रहार गर्न लगाएको भनिएको छ ।
अब प्रश्न उठछ ?

के राधा दिएको बयानको आधारलाई सत्य मान्ने हो वा तथ्यमा जाने हो ? यदि सत्य मान्ने हो भने त्यसका तथ्य के छन ? यदि छैन भने किन पक्राउ गरियो गम्भीर प्रश्न उठेको छ ? यो प्रश्नबारे प्रहरीसंग सोध्दा प्रहरी प्रमुख काफ्ले ठोस प्रतिक्रिया दिएनन् ।
उनले भने,‘अहिले हामी अनुसन्धानको चरणमा छौं, सबुत प्रमाणहरु अदालतमा पेश गर्ने कुरा हो, त्यहाँ पेश गरिन्छ । तर अहिले हामी कुनै सबुत प्रमाण दिँदैनौं ।’

प्रहरी प्रमुख काफ्लेको यो प्रतिक्रियाले मृतकका परिवारले प्रहरी अनुसन्धान फितलो भइरहेको लगाइरहेको आरोपलाई मलजल मात्रै गरिरहेको छैन, प्रहरी अनुसन्धान कमजोर रहेको पुष्टि गर्न काफी नै छ । पत्रकार सम्मेलनमा प्रहरीले कुनै सबुत प्रमाण सार्वजनिक गरेको थिएन । गरेको थियो त केवल ५ जनाको नाम, त्यो पनि सहयोगी भनेर ।

के भन्छन् मृतकका परिवारजन ?

बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत प्रेम सम्बन्ध देखाएर सार्वजनिक गरेका धारणाप्रति मृतकका परिवारजनले आपती जनाएका छन् । उनीहरुले प्रहरीको प्रतिक्रियाले झन हामीलाई पीडा दिइरहेको दुखेसो जनाएका छन् ।

बारा प्रहरीले बुधबार गरेको पत्रकार सम्मेलनपछि मृतकका परिवारले सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रहरी अनुसन्धानले चरित्र हनन मात्रै गरिरहेको र त्यो गलत भएको आरोप लगाएपछि प्रहरी अनुसन्धान विवादास्पद बनेको हो ।

मृतक स्वर्णकारका दाई भोला सर्राफले प्रहरीको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा भनेका छन्,‘हामी अहिले शोकमै छौ, घरमा दुःखद घटना भएकाले पूरै पीडामै छौं ।

तर प्रहरीले भनिरहेको प्रेम सम्बन्धको तर्कमा दम छैन । त्यो सरासर प्रहरीको पन्छिने काम मात्रै हो । भाइको कसैसंग प्रेम सम्बन्ध थिएन । कसैले पुष्टि गरदियो भने हामी सजाय भोग्न तयार छौं।’

तर प्रहरीले भने जबरजस्ती प्रेम सम्बन्धको कुरा देखाएर घटना मोड्ने काम गरिरहेको छ,’ उनले भने । उनका अनुसार घटना के कारणले भएको हामीलाई समेत जानकारी छैन, आफै अन्योलमा छौं ।

तर प्रहरीले भने गलत सूचना दिएर भ्रम फैलाइरहेको गुनासो गर्दै मृतकका दाइ भोला सर्राफ भन्छन–‘प्रहरीलाई आग्रह छ,कृपया हाम्रो परिवारको बदनाम नगराइदिओस,बरु सत्यतथ्य अनुसन्धान गरेर हामीलाई सहयोग गरोस ।

किनभने प्रहरीले समातेकाहरुमध्ये २ जना हाम्रै स्कुलका शिक्षक छन, जसको कुनै संलग्नता नै छैन । बिना संलग्नता भएकाहरुलाई जबरजस्ती दोषी देखाएर सार्वजनिक गरेपछि प्रहरी अनुसन्धानमाथित अझ हाम्रो विश्वास उठेको हो ।’

बारा प्रहरीले हत्याका घटनामा संलग्नता रहेको भन्दै बाल एकता बोर्डिङ स्कुलका रियाज अन्सारी र जामिल अन्सारीलाई समेत पक्राउ गरेको छ । तर मृतक स्वर्णकारका दाइ भोलाले यी दुबैको घटनामा कुनै संलग्नता नरहेको बताए उनका अनुसार यी दुबैजना त भाइलाई लिएर अस्पताल पुगेका थिए ।

उनले भने,‘भाइको उपचार चलिरहँदासम्म यी दुई हामीसंगै थिए, तर साँझमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।’ जबरजस्ती प्रेम सम्बन्ध देखाएर प्रहरी आफ्नो कमजोरी लुकाउन खोजीरहेको पीडित परिवारको दुखेसो छ।


सम्बन्धित समाचार