Logo

१६ कार्तिक, वीरगञ्ज । कलैया ६ का रुपेश स्वर्णकार हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा गम्भीर लापरबाही भएको पाइएको छ । अनुसन्धान प्रक्रियामा गोप्य राख्नुपर्ने तथ्यहरु सार्वजनिक गरेर गम्भीर लापरबाही गरेको घटनाको उजागर भएको हो ।

हत्या प्रकरणमा ९९ प्रतिशत अनुसन्धान सकिएको दाबी गर्ने बारा प्रहरी बुधबार राखेको पत्रकार सम्मेलन हतारहतारमा मात्रै गरेन, प्रहरीको अनुसन्धान प्रक्रिया फितलो रहेको आफ्नै तथ्यबाट पुष्टि नै गर्‍यो ।

त्यो कसरी भने प्रहरी अनुसन्धान निचोड ननिकाल्दासम्म मुख्य आरोपितको नाम गोप्य राखिन्छ, तर यहाँ त्यहीँ सार्वजनिक गरिएको छ ।

त्यसकारण प्रहरी अनुसन्धानप्रति मृतकका परिवारजनसहित सर्वसाधारणको विश्वास गुमेको धारणाहरु सार्वजनिक भइरहेका छन् ।

प्रहरी अनुसन्धानप्रतिको अविश्वासको धारणा चियो चर्चौ मात्रै सीमित रहेन, मृतकका परिवारजनले त प्रहरी अनुसन्धानमाथि अविश्वास नै जनायो ।
पहिला त्यो बुझौं के भनेका छन मृतकका आफन्तले ।

मृतक स्वर्णकारका परिवारजनले प्रहरी अनुसन्धान कमजोर रहेको र भइरहेको अनुसन्धानप्रति विश्वास नभएको भन्दै विज्ञप्ति नै जारी गर्‍यो ।

यसरी परिवारबाट विज्ञप्ति जारी भएपछि प्रहरी अनुसन्धानमाथि गम्भीर शंका खडा गरिदियो । मृतकका दाइ भोला सर्राफले त प्रहरीले घटनालाई मोडनका लागि प्रेम सम्बन्ध देखाएर अपराधीलाई बचाउन प्रयास गरिरहेको आरोप नै लगाए ।

त्यसपछि यो त झनै विवादास्पद बनेको छ । नबनोस पनि कसरी, मृतक परिवारको आरोप र प्रहरीले गोप्य राख्नुपर्ने तथ्य सार्वजनिक भएपछि परिवारजनको आरोपलाई नै मलजल गर्न मद्दत गरिरहेको छ ।

किनभने, कुनै पनि घटनाको अनुसन्धान भइरहँदा त्यसको सामान्य सिद्धान्त प्रहरी अनुसन्धानमा पालना गरिएको पाइन्छ, त्यो हो घटनामा संलग्न भएकाहरु पक्राउ नपरुञ्जेलसम्म उनीहरुको नाम गोप्य राख्नु । तर प्रहरी भने यही तथ्यमा चुकेको छ, सार्वजनिक नगर्नुपर्ने नाम नै सार्वजनिक गरेर ।

यसलाई अझ सरल तरिकाले यसरी बुझौं ।

हत्या भएको तीनदिनभित्रै सफलता मिलेको भन्दै बारा प्रहरीले तामझामका साथ पत्रकार सम्मेलन ग¥यो । जसमा प्रहरीले स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको जनाउँदै एक महिलासहित ५ जनालाई सार्वजनिक ग¥यो । र, यहाँ प्रहरीले भन्यो–यी सबै स्वर्णकार हत्याकाण्डका सहयोगी मात्रै हुन, मुख्य योजनाकार र मुख्य सुटरको खोजी भइरहेको छ ।

कसरी चुक्दै प्रहरी ?

हो, यहाँसम्म प्रहरी अनुसन्धानलाई बेठीक भन्न सकिने अवस्था छैन, तर जब प्रहरीले फरार रहेका ४ जनाको नाम नै किटानी गरेर सार्वजनिक ग¥यो त्यसबाट विभिन्न अड्कलबाजी सुरु भयो ।

कतिपयले प्रहरीको अपरिपक्वताको संज्ञा दिए भने कतिले प्रहरी गोप्य नाम सार्वजनिक गरेर अपराधीलाई फरार रहन सूचना दिएको ठाने ।

जसलाई इन्कार गर्न सकिने अवस्था नरहेको प्रहरी अधिकारीहरु नै स्वीकार छन् । अनुसन्धानमा खटिने प्रहरी अधिकारीहरु पनि पक्राउ गर्न बाँकी रहेका आरोपितहरुको नाम सार्वजनिक गरेर प्रहरी चुकेको बताउँछन् ।

हुन पनि हो, पक्राउ गर्नुपर्ने मुख्य योजनाकारको नाम किन सार्वजनिक गरियो रु बारा प्रहरी सामु यो गम्भीर प्रश्न तेर्सिएको छ । तर बारा प्रहरीले भने यसलाई अझ सहजताका साथ नै लिइरहेको छ ।

बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले अपराधमा संलग्नहरुको नाम ‘फाइन्ड आउट’ भइसेकोले हामीले सार्वजनिक गरेको जनाए । उनका अनुसार यसका कारण प्रहरी अनुसन्धानमा कुनै खास असर पर्दैन । त्यसकारण यो घटनाको अनुसन्धानमा प्रहरी चुकेको भन्न नमिल्ने उनी बताउँछन् ।

कोको मुख्य योजनाकार र सुटर ?
बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत मुख्य योजनाकारको रुपमा तीन वर्षदेखि राधा गुप्ताको प्रेम सम्बन्धमा रहेका भारतीय मनोज गुप्ताको नाम सार्वजनिक गरेको छ ।
बारम्बार सम्झाउँदा पनि मृतक स्वर्णकारले राधासंगको सम्बन्ध नतोडेपछि यही भारतीय गुप्ताले ४ जना सुटरमार्फत स्वर्णकारको हत्या गर्न लगाएको भनिएको छ ।

त्यसका लागि मनोजले भारत विहार मोतिहारी जिल्ला दर्पा थानाका सुजित कुमार सिंह, चन्दन पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीलाई पैसा तिरेर स्वर्णकारको हत्या गर्न लगाइएको प्रहरीले यी सबैको नाम नै किटानी गरेर सार्वजनिक गरेको छ ।

नेपाल प्रहरी देश र विश्वमा अपराधको अनुसन्धानमा नाम कमाएको एउटा ठूलो संगठन हो । जसका कारण देशका आम नागरिकको यो संगठनप्रति भरोसा पनि रहन्छ ।
तर बारा प्रहरीको यो गम्भीर लापरबाहीले सर्वसाधारणको प्रहरी संगठनप्रतिको विश्वास मात्रै उठेको छैन, प्रहरीको साँख नै गिरेको घटनाको विवादले देखाइरहेको छ ।
यही सोमबार बाराको कलैया ६ मा स्वर्णकारमाथि भएको गोली प्रहारबाट त्यही दिन उनको मृत्यु भएको थियो । मृतक स्वर्णकार कलैयामा सञ्चालित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए ।


सम्बन्धित समाचार