Logo

१९ कात्तिक,जनकपुर ।इजरायलमा हमासले गरेको आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । ती तिनै जनाको शव आ–आफ्नो गृहस्थानमा नेपाली सेनाको टोलीले पुर्याएको छ ।

हमासको आक्रमणमा परी ज्यान गुमाएका मध्ये धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित सपहीका आनन्द साहको शवसमेत उनको घर सैनिक विमानबाट सेनाले ल्याई दिएको हो ।

नेपाली सेनाको विशेष विमानबाट आनन्दको शव आज दिउँसो जनकपुरधाम एयरपोर्ट हुँदै गाउँ ल्याइएको थियो । उनको आज नै दाहसंस्कार हुँदै छ ।
त्यस्तै सुनसरी मधुवन वडा नम्बर १ बस्ने राजेशकुमार स्वर्णकार र डोटी पचनाली वडा नम्बर ३ बस्ने राजन फुलाराको शव उनीहरुको गाउँमा नेपाली सेनाले पुर्याएको जनाइएको छ ।

इजरायलमा असोज २० मा हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । जसमध्ये आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ भने अझै दुई जनाको शव आउन बाँकी छ ।

आक्रमणमा परि ज्यान गुमाएका थप दुई जना डोटी लामीखाल वडा नम्बर ८ का पदम थापा र सल्यान सारदा वडा नम्बर ३ का प्रवेश भण्डारी रहेका छन् ।
अहिलेसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल आइसकेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ती विद्यार्थीहरु इजरायलमा गएका थिए ।
हमासको आक्रमणमा परी कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपीन जोशीलाई हमासले बन्धक बनाएको छ ।


सम्बन्धित समाचार