Logo

२०कात्तिक,वीरगञ्ज । आम जनता पार्टीले धनुषाकी आरती साह हत्या प्रकरणमा न्यायका लागि परिवारले थालेको संघर्षमा ऐक्यबद्धता जनाउँदै पीडित पक्षको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आजपाका प्रवक्ता चन्द्र भूषण साहले जारी गरेको विज्ञप्तिमा कार्तिक २२ गते पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागितामा पीडित परिवारको धर्ना कार्यक्रममा भौतिक रुपमै उपस्थित भएर ऐक्यबद्धता जनाउन लागिएको छ ।

यस्तै २३ गते मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए । माइतीघरमा संघर्षरत पीडित परिवारको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आजपाको भनाइ छ ।

‘पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौँको कठ्यांग्रिदो जाडोमा खुला आकाशमुनि शान्तिपूर्ण धर्नामा रहेका पीडित परिवारमाथि यही असोज २४ गते रातको समयमा चार जनाको अज्ञात समूहले गरेको संघातिक हमला र त्यसको छानबिन गरी दोषी उपर कारवाहीको सट्टा पीडित परिवारलाई नै यही असोज २७ गते अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदासीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ’, आजपाको विज्ञप्तिमा भनिएको छ ।

तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको खिल्ली उडाउने हर्कतहरुप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।


सम्बन्धित समाचार