Logo

२१ कात्तिक,वीरगञ्ज । बारा कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डमा नयाँ ‘ट्वीस्ट’ आएको छ ।
हत्या भएको तीनदिन पछाडि बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत आरोपित र फरार अभियुक्तहरुको नाम सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीस्ट आएको हो ।

फरार सुटरहरुमध्ये कामेश्वर सहनीले आफूहरुलाई बारा प्रहरीले फसाउन लागेको भन्दै एसपी काफ्लेको पुतला जलाउँदै विरोधमा आएपछि घटनाले नयाँ मोड लिएको हो ।

सहनीले विरोध जनाउँदै दोषी प्रमाणित गर्न एक भारतीय ‘यूट्यूब’ पुजारी न्यूज नेटवर्कमा खुलेआम चुनौती दिएपछि घटनामा तरंग पैदा गरेको हो ।

प्रहरीको फरार सुटरको सूचीमा नाम दर्ज रहेका यी सहनीले खुलेआम जुलुस निकालेर विरोध जनाउँदै आफ्नो नाम हटाउँन प्रहरीसंग माग गरेका छन् ।

अन्तर्वार्तामा सहनीले भनेका छन्,‘मारिएका व्यक्तिसंग मेरो कुनै चिनजान छैन, भेटघाट छैन । न कुनै सम्पर्क छ न त कुनै आधार नै छ । तर जबरजस्ती मलाइ फसाइदैछ । यहीकारण एसपीको काफ्लेको विरोधमा पुतल दहन गर्न लागेको हुँ ।’

मुख्य सुटर भनिएका सहनीले एउटा पुतलामा एसपी काफ्ले लेख्दै पुतला दहन गरेको देखिन्छ ।
विहारका सहनीले मात्रै होइन, यता बारामा पनि पक्राउ परेका शिक्षकद्वय निर्दोष रहेको भन्दै यहाँका नागरिक समाज र मृतक स्वर्णकारको घरपरिवारसमेतबाट विरोध प्रदर्शन भइरहेको छ ।

यसरी पक्राउ परेकाहरु पनि निर्दोष रहेको भन्दै उनीहरुको समर्थनमा विरोध प्रदर्शन र मुख्य सुटरहरु भनिएकाहरुमध्ये पनि विरोध प्रदर्शन भएपछि घटनामा तरंग ल्याएको छ ।

फरार मुख्य सुटर सहनीले दोष साबित गर्न खुलेआम चुनौतीसहित अन्तर्वार्ता नै आएपछि बारा प्रहरीको अनुसनधानमाथि शंका मात्रै पैदा भएको छैन, फितलो अनुसन्धान भएको पुष्टि गर्न बल पुगिरहेको छ । अर्थात् यी दुबै घटनाले प्रहरी लापरबाहीको पराकाष्ठा भएको छ ।
स्वर्णकारको हत्याको तीन पछाडि बारा प्रहरीले पक्राउ गरेका ५ जना सहयोगीलाई सार्वजनिक गर्दै मुख्य सुटरहरुको पहिचान भइसकेको जनाउँदै सबै नाम सार्वजनिक गरेको थियो ।

प्रहरीले मुख्य सुटरहरु भन्दै भारत विहार मोतिहारी जिल्ला दर्पा थाना बस्ने सुजित सिंह, चन्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनीको नाम सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धानबाट यी सबै नाम ‘आउट’ भएपछि त्यसको विरोधमा कामेश्वर सहनीसहित भारतीयहरु प्रदर्शनमा उत्रेको ‘यूट्यूब’मा देखिन्छ ।

यूट्यूबको ती अन्तर्वातामार्फत सहनीले फरार अभियुक्तको सूचीबाट आफ्नो नाम हटाउनमा पहल गर्न भारत सरकारको विदेश मन्त्रालयसंग माग गरेका छन् ।

यता बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेसंग यो विषयमा प्रतिक्रिया लिदाँ उनी बोल्न मानेनन् । रेसखबरले डिएसपी न्यौपानेसंग गरेको कुराकानीमा उनी आफू अहिले व्यस्त रहेको भन्दै फोन सम्पर्कमा आउन चोहनन् ।

गएको सोमबार बारा कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि भएको गोली प्रहारबाट उनको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार