Logo

जनकपुर, कार्तिक २२ । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायतका विभिन्न मागहरु पुरा गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजनामा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रहरी समायोजन, निजामति कर्मचारी समायोजन, गुठी र वनसम्बन्धी विधेयक र कानून निर्माण भएको लामो समय वित्दापनि कार्यान्वयनमा नआएको भन्दै तत्काल कार्यान्वयन गरी हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै ३० दिनको अल्टिमेटम दिने बताए ।

बिहीबार काठमाडौँ स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मधेश प्रदेशका मन्त्री, प्रदेशसभामा रहेका संसदीय दलका नेतालगायतकाहरुको सहभागितामा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने मुख्यमन्त्री यादवले बताए । उनले मधेश प्रदेशको शान्ति सुरक्षा तथा सुशासनको अवस्था, प्रदेशको विकास निर्माणको अवस्था, यहाँको जग्गाजमिन तथा जंगलको अवस्था दयनीय रहेकाले ज्ञापनपत्र बुझाएको ३० दिनभित्रमा संघीय सरकारले मागहरु पुरा गर्नुपर्ने बताए ।

उनले संघीयतालाई जोगाउनका लागि मधेश प्रदेश सरकारले उठाएका मागहरु समयमै सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।


सम्बन्धित समाचार