Logo

२४कात्तिक,वीरगञ्ज । बारा कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या प्रकरणको अनुसन्धान अझ टुंगो लाग्न सकेको छैन ।
स्वर्णकारको हत्या भएको १२ दिन भइसक्दा पनि प्रहरी अनुसन्धान अन्योलमै छ । घटनामा संलग्न सहयोगीहरुलाई पक्राउ गरेपनि मुख्य योजनाकार र सुटरहरु भने अहिलेसम्म फरार नै छन् ।

स्वर्णकारको हत्या भएलगत्तै सहयोगीहरुलाई पक्राउ गरी वाहवाही कमाएका बारा प्रहरीले मुख्य सुटरहरु भने समाउन नसक्दा प्रहरी अनुसन्धानमाथि जनताको विश्वास उठ्दै गएको छ ।
सायद त्यसकारण नै होला, निर्दोषलाई रिहा र अपराधीलाई पक्राउ गर भन्दै बारामा धर्ना, जुलुस जस्ता कार्यक्रम भइरहेको छ । तर यसको बाबजुद पनि मुख्य सुटर भनिएका कामेश्वर सहनीसहितकाले बारा प्रहरीलाई खुलेआम चुनौती दिँदा पनि पक्राउ पर्न सकिरहेका छैनन् ।

स्वर्णकार हत्याप्रकरणको अनुसन्धानमा प्रहरी गम्भीर रहेको दाबी गरिरहँदाको बखत मुख्य सुटर सहनीबाट नै खुलेआम चुनौती आएपछि प्रहरीको दाबीलाई खण्डन मात्रै गरिरहेको छैन, अनुसन्धानप्रति प्रहरी कमजोर रहेको पुष्टि भइरहेको छ । स्वर्णकार हत्या प्रकरणले बारा प्रहरीको अनुुनधानमाथि नै प्रश्न खडा गरदिएको छ, जसका कारण अनुसन्धानमा अब्बल मानिएका नेपालको प्रहरीको साख खस्किदै गइरहेको देखिन्छ ।

किन मुख्य सुटर अझ फरार ?

बारा प्रहरीको लापरबाहीले स्वर्णकार हत्या प्रकरणको अनुसन्धान प्रभावित बन्दै गएको छ । पक्राउ गर्नुपर्ने मुख्य सुटरहरुकै नाम सार्वजनिक गरेपछि अनुसन्धानले नतिजा प्राप्त गर्न नसकेको प्रहरी स्रोतको बुझाइ छ ।
एक प्रहरी अधिकारी भन्छन्,‘प्रहरीबाट के गल्ती भयो भने पत्रकार सम्मेलन गरेर मुख्य सुटरको नाम सार्वजनिक नगर्नुपर्ने हो, तर प्रहरीले यही नाम सार्वजनिक गर्‍यो ।

जसकारण हत्यामा संलग्न भएकाहरु सतर्क भए र खेल्ने मौका पाए ।’
उनका अनुसार आफ्नो नाम थाहा पाएर मुख्य सुटरबाट नै एसपीलाई खुलेआम चुनौती आउनु भनेको प्रहरीको गम्भीर चुक हो । ‘यो सब घटनाक्रमले अनुसन्धानमा जटिलता अझ थपिदै जानेछ,’ उनले भने ।

के गर्दैछ प्रहरी ?

स्वर्णकार हत्या प्रकरणमा बारा प्रहरी  ५ जनालाई पक्राउ गर्नेबाहेक अहिलेसम्म ठोस नतिजा प्राप्त गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरु बयान र उनीहरुको म्याद थप गर्नुबाहेक बारा प्रहरीले अरु काम गर्न सकेको छैन ।

अनुसन्धानको नाममा बारा प्रहरीबाट लापरबाही भइरहेको प्रहरी अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार त्यो कसरी लापरबाही भइरहेको छ भने यसको उत्तर कामेश्वर सहनीको प्रतिक्रियाबाट मिलिरहेको छ ।
उनीको भन्छन्,‘यदि कामेश्वर मुख्य सुटर हो भने खुलेआम चुनौती दिँदा प्रहरी किन समाउन सकिरहेको छैन, सबुत प्रमाणका साथ प्रहरी गयो भने भारतका प्रहरीले पनि सहयोग गरदिन्छन्।

किनभने हामी पनि उनीहरुलाई नेपालमा सहयोग गरिरहेका हुन्छौ ।’ तर उनलाई नसमाउँदा प्रहरीसंग कमजोर सबुत रहेको प्रष्ट भइरहेको छ,’ उनले भने । यसको सिधा अर्थ हो जघन्य प्रवृतिको अपराधमा प्रहरीबाट लापरबाही भइरहेको छ ।

यो विषयमा प्रतिक्रिया लिँदा बारा प्रहरीले ठोस जवाफ दिएन ।बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले अहिले अनुसन्धान चलिरहेको बताए । उनी भन्छन्,‘प्रहरी गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ, सबै पक्राउ परिसकेपछि फेरि पत्रकार सम्मेलन गर्छौ । त्यसकारण योबाहेक अन्य केही कुरा खुलाउन मिल्दैन् ।’

गएको १३ कर्तिकमा कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि भएको गोली प्रहारले उनको त्यहीँ दिन बीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको थियो । प्रेम सम्बन्धका कारण हत्या भएको  प्रहरी दाबी छ  ।


सम्बन्धित समाचार