Logo

फाइल तस्बिर

६ मंसिर,वीरगञ्ज । बारा कलैया ६ निवासी रुपेश स्वर्णकार हत्याप्रकरणमा अनुसन्धानको लागि दबाब दिनेहरुलाई प्रहरीले धम्की दिइरहेको खुलासा भएको छ ।
मृतक स्वर्णकारको पक्षमा लागेर न्याय माग्ने आफन्त तथा शुभचिन्तकहरुलाई प्रहरीले विभिन्न बहानामा कार्यालयमा बोलाएर धम्की दिइरहेको खुलासा भएको हो ।

मृतकका दाइ सुबोध सर्राफसहित बाराका नागरिक समाज अहिले दिनहुँ धर्नामा बस्ने गरेका छन् । स्वर्णकार हत्याकाण्डमा संलग्नहरुको कारबाहीको माग गर्दै कलैयाको भरतचोकमा हरेक दिन धर्नाको कार्यक्रम चलिरहेको मृतकका आफन्तजन बताउँछन् ।

उनीहरुको अनुसार यो धर्नामा सघाउने तथा न्यायको पक्षमा सञ्चारमाध्यम वकालत गर्नेहरुलाई बारा प्रहरीले आफ्नो कार्यालयमा बोलाएर धम्काउने काम गरिरहेको छ, जुन एकदम बेठीक छ ।

‘एक त हाम्रो भाइको मृत्यु भएको छ, हामी त्यसको पीडामा छौ । प्रहरी प्रशासनबाट हामीलाई साथ सहयोग प्राप्त हुनुपर्ने हो, तर हाम्रो हकमा सबै उल्टो भइरहेको छ । मृतक रुपेश स्वर्णकारका दाइ भन्छन्,‘कतिसम्म उल्टोभइरहेको छ कि हाम्रो समर्थनमा धर्नामा आउनेहरुलाई अप्रत्यक्षमा जिल्ला प्रहरीमा बोलाएर थर्काइदैछ, समाचार लेख्नेलाई विभिन्न बहानामा फसाइदिने धम्की दिँइदैछ । जसका कारण अहिले हामी विक्षिप्त छौं ।’

यी सब प्रहरीबाट भइरहेको धम्कीपूर्ण रवैयाले हामी न्याय नपाउँने महसुस गरिसकेका छौं,’उनी बताउँछन् । उनका अनुसार अब प्रहरीले न्याय दिन्छन भन्ने हामीलाई आशा नै छैन ।
गएको १३ गते स्वर्णकारमाथि भएको गोली प्रहारबाट उनको मृत्यु भएको थियो । प्रेम सम्बन्धका कारण स्वर्णकारमाथि गोली चलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले बताउँदै आइरहेको छ ।

तर अहिलेसम्म बारा प्रहरीले त्यसको ठोस सबुत प्रमाण भन्ने सार्वजनिक गर्न सकेको छैन । हत्याको अनुसन्धानकोे बारेमा रेसखबरले प्रतिक्रिया लिदा बारा प्रहरी प्रमुख सुरेश काफ्लेले स्वर्णकार हत्याको अनुसन्धान नजिक पुगिसकेको बताए ।

उनी भन्छन्,‘प्रहरी अनुसन्धानको धेरै नजिक छ, अहिले हामी केही बोल्दैनौं । अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिन्छौं ।’
२३ दिन अगाडि कलैयाको मदरसा चोकमा भएको गोली प्रहारबाट मृत्यु भएका स्वर्णकारको हत्यामा संलग्न रहेको भन्दै प्रहरी ३ नेपालीसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार