Logo

८ मंसिर,सेढवा । पर्साको ग्रामीण भेगका नयाँ पुस्ता लागुऔषध सेवनको दलदलमा फस्दै गएको डरलाग्दो तथ्यांक पाइएको छ ।

ग्रामिण भेगका नयाँ पुस्ताका अधिकांश युवाहरुमा लागुऔषध गाँजा, चरेससहित विभिन्न खाले ट्याब्लेट तथा नशा लाग्ने ‘इन्जेक्सन’ समेतको सेवनमा लागेको ग्रामिण भेगका प्रहरी यूनिटहरुको विश्लेषण छ ।

ग्रामिण भेगका प्रहरी यूनिटको विश्लेषणमा अझ डरलाग्दो तथ्यांक के पाइएको छ भने गाउँगाउँमा लागुऔषधको सेवन केवल प्राथमिक तहको विद्यालयमा जाने विद्यार्थीहरुले गरिरहेका छन् ।

जसका कारण प्रहरीको यो विश्लेषण जिल्लाको लागि चिन्ताको विषय मात्र बनेको छैन, प्रहरीको लागि टाउँको दुखाइको विषय नै बनेको छ ।
जिल्ला बाहिरका प्रहरी यूनिटलाई किन टाउँको दुखाइको विषय बनेको छ भने नयाँ ‘जेनेरसन’का युवाहरु लागुऔषधको सेवन गरेपछि अनैतिक तथा अपराधिक क्रियाकलापमा बढी संलग्नता जनाउने गरेको देखिन्छ ।

जसबाट समाजमा अपराध मात्र मौलाइरहेको छैन, युवा पुस्ताको भविष्य कता जादैँछ भनेर चिन्ताको विषय नै बनिरहेको छ ।
प्रहरीका अनुसार यतिमात्रै होइन लागुऔषध सेवनकर्ताहरुको अकालमै थुप्रैको ज्यान गइरहेको छ । लागुऔषधको सेवन गरेर सवारी चलाउँदा दुर्घटना पनि उत्तिकै भइरहेको छ, जसकाकारण कतिजनाको त अकालमै मृत्यु भइरहेको छ ।

प्रहरीको विश्लेषण मात्रै होइन लागुऔषध ओसारपसार तथा सेवन गरेर थुप्रै नयाँ पुस्ताका युवाहरु प्रहरी हिरासतमा छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली गएको ३ महिनामा ३० जनालाई २४ घण्टा आफ्नो नियन्त्रणमा राखी सम्झाएर फर्काएको बताएको छ ।

यतिमात्र होइन पहिलो पटक लागुऔषध सेवन गरेको ५० जनालाइ त चेतावनी दिएर नै छाँडिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख राजाराम केसरी बताउँछन् ।
उनका अनुसार यही ३ महिनाको अवधिमा २३ जना विरुद्ध लागुऔषध सम्बन्धि कसूरमा मुद्दा पनि चलाइएको छ ।

पटेर्वासुगौलीमा मात्रै नभइ इलाका प्रहरी कार्यालय पोखरियाको एरियामा पनि उस्तै समस्या छ । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहनबिक्रम केसीका अनुसार लागुऔषध ओसारपसारमा युवा पुस्ताको संलग्नता बढी रहेको स्वीकार छन् ।

तर त्यसको बाबजुद पनि प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित संलग्नहरुलाई पक्राउ गर्न प्रहरी कुनै कसर बाँकी नराखेको उनी बताउँछन् ।
यो कुराको पुष्टि प्रहरीबाट मात्रै नभइ गाउँपालिकाका वडाअध्यक्षहरुको प्रतिक्रियाबाट पनि भइरहेको छ ।

ठोरी गाउँपालिका वडा नम्बर– ५ का  भिमबहादुर पाख्रिनका अनुसार पालिकाका अधिकांश युवाहरु लागुऔषध दुव्र्यसनीको दलदलमा फस्दै गएका छन् । यो विकृती शहरबाट पछिल्लो समय गाउँमा पसेको उनको बुझाइ छ ।

ग्रामिण भेगमा दिनप्रति दिन लागुऔषधको सेवनकर्ताको संख्या बढ्दै गएको छ । जिल्लाको पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगञ्ज महानगरपालिकाको ग्रामिण भेगमा पर्ने केहि वडाहरुमा लागुऔषध सेवनकर्ताको संख्यामा वृद्धि भइरहेको ग्रामिण भेगका प्रहरी यूनिटहरुको आंकलन छ ।

लागुऔषधको सेवन तथा यसको ओसारपसार नियन्त्रण गर्न स्थानीय सरकारले कुनै चासो नदिएका कारण यो समस्या विकराल रुप लिँदै गएको प्रहरी विश्लेषण छ ।
यसको नियन्त्रणका लागि तत्कालै हरेक गाउँगाउँमा लागुऔषध विरुद्ध चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने एकदम जरुरी रहेको प्रहरी सुझाव छ ।

 


सम्बन्धित समाचार