Logo

१० मंसिर, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका वडा नं १ का वडाध्यक्ष मनोज गुप्ताले गढीमाई मन्दिरको जग्गा अतिक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।

गढीमाई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराले वडाध्यक्ष गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको हो । गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जयसवालले वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको जग्गा अतिक्रण गरी वडाध्यक्षले हिन्दु धर्मावलम्वीहरुको आस्थामाथी प्रहार गर्न खाजेको आरोप लगाउनुभएको हो ।

मन्दिरको जग्गा अतिक्रमण गरि वडा कार्यालय निर्माण गर्नु अशोभनिय कार्य भएको जयसवालले उल्लेख गर्नुभयो । उहाँले मन्दिर क्षेत्रको केन्द्र बिन्दुमा निर्माण हुने वडा कार्यालयले मन्दिरलाई कुरुप बनाउने एवम् पञ्चवर्षिय मेलालाई नै प्रभावित पार्ने जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जयसवालले वडावासीहरुको सहजताको लागि वडा कार्यालय निर्माण हुनु आवश्यक रहेको भएपनि त्यसका लागि थुप्रै वैकल्पिक ठाउँहरु रहेकोमा जोड दिनुभयो ।

कोषाध्यक्ष जयसवालले महागढीमाई १ का वडाध्यक्ष गुप्ताले विश्व प्रख्यात मन्दिर गढीमाईको नाममा रहेको किता नं। ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरी मनोमानी ढङ्गले अगाडी बढाएको निर्माण कार्य तत्काल रोक्न माग गर्नुभएको छ । उहाँले निर्माण कार्य शुरु भएयता विकास समितिले निर्माण कार्यको विरोध गर्दे आएको उल्लेख गर्दै निर्माण कार्य नरोकिएपछि आफुहरुले कानुनी उपचार खोजेको बताउनुभयो ।

उहाँले अदालतमा निर्माण कार्य रोक्न माग गरेको बताउँदै अदालतले आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । देशको मुख्य तीर्थ स्थल एवम् पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरको मुख्य भागमा घर निर्माण भएपछि मधेश प्रदेशकै पर्यटकीय विकासमा बाधा पुग्ने उहाँको बुझाई छ ।

वडाध्यक्षको यस कार्यमाथि नगरपालिकाले साथ दिनुको कारणबारे बेखबर रहेको उहाँको भनाइ छ ।

यता वडाध्यक्ष मनोज गुप्ताले आफ्नो मनोमानीले जग्गा अतिक्रमण नगरेको प्रतिक्रिया दिनुभएको छ । उहाँले किता नं. ३६७ को जग्गा गाँउलेहरुले सर्वसहमतिमा वडा कार्यालय निर्माण गर्न लागेको दाबी गर्नुभएको छ ।


सम्बन्धित समाचार