Logo

मंसिर १२ , वीरग्ञ्ज । मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा खानेपानीको वितरण रोकिएको तथ्यांक सार्वजनिक भएको छ ।

पूर्वमुख्यमन्त्री गद्दीको बीरगन्ज तेजाराथ टोलमा रहेको घरमा वितरण हुने नेपाल खानेपानीको पाइप लाइन काटिएको तथ्यांक बाहिरिएको हो ।

लामो समयदेखि खानेपानीको बक्यौता रकम नबुझाएका कारण नेपाल खानेपानी संस्थान वीरगञ्ज वितरण केन्द्रले पूर्वमुख्यमन्त्रीको घरमा खानेपानीको वितरणमा रोक लगाएको जनाइएको छ ।

पूर्वमुख्यमन्त्री गद्दीको घरमा नेपाल खानेपानी संस्था वीरगञ्ज बितरण केन्द्रले बुवा दशरथ राउतको नाममा पानीको लाइन (मिटर) जडान गरेको थियो ।

२२ वर्षदेखि सरकारी पानीको प्रयोग गर्दै आएपनि त्यसको महसुल नतिरेका कारण यही महिना पूर्वमुख्यमन्त्री गद्दीको घरको पानी वितरणमा रोक लगाइएको नेपाल खानेपानी संस्थानका प्रमुख निरण महर्जनले जनाए । नेपाल खानेपानी संस्थानका अनुसार ४७० नम्बरको आइडी नम्बरबाट उनको घरमा पानी वितरण भइरहेको थियो ।

यो आइडी नम्बर उनको बुवा दशरथ राउतको नाममा दर्ज छ । नेपाल खानेपानी संस्थानका यो आइडी नम्बरबाट जडित खानेपानीको मिटरको महसुल ०५८ सालदेखि नतिरिएको देखिन्छ ।

अर्थात् करिब २२ वर्षदेखि पूर्वमुख्यमन्त्री राउतले सरकारी धाराको पानी प्रयोग गरेपनि त्यसको महसुल भने नबुझाएको तथ्यांकबाट प्रष्ट भइरहेको छ ।

यो हिसाबले पूर्वमुख्यमन्त्री गद्दीसंग १ लाख ८४ हजार ८ सय ७६ रुपैयाँ नेपाल खानेपानी संस्थान बीरगञ्जले लिनुपर्ने आँकडा छ । प्रमुख महर्जनका अनुसार खानेपानी संस्थानको बक्यौत्ता रकम नदिने ग्राहकको लाइन काटिने अभियान सुरु चलाइएको छ, त्यही अभियान अन्तर्गत मुख्यमन्त्रीज्यूको घरको पनि लाइन काटिएको हो ।

उनले भने,‘अहिले हामी १४ जनाको घरको खानेपानी लाइन काटेका छौँ, अझै धेरै घरको लाइन काटिने सूची तयार छ । जसमा वीरगञ्जका प्रसिद्धि कमाएकाहरुको नाम पनि यो लिस्टमा छ ।’

वीरगञ्जमा नेपाल खानेपानी संस्थानको करिब ११ करोड रुपैया उठाउन बाँकी रहेको तथ्यांक छ ।बक्यौता रकम नदिने ग्रहकको जग्गा रोक्का सम्बनधमा संस्थानले मालपोत कार्यालय पर्सामा पत्र समेत पठाइसकेको जनाएको छ ।

वीरगञ्ज वितरण केन्द्रको बक्यौता रकम नदिने ग्राहकको संख्या भने ५ सय भन्दामाथि रहेको प्रमुख निरण महर्जनले जनाए ।पूर्वमुख्यमन्त्री राउतसंग प्रतिक्रिया लिदा यो विषयमा आफूलाई जानकारी नभएको दाबी गरे ।


सम्बन्धित समाचार