Logo

वीरगञ्ज १५, मंसिर । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले हात पारेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई ११ रनले पछि पार्दै मधेस प्रदेशले उपाधि हात पारेको हो ।

मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए ।
मधेस प्रदेशका हरिशंकर साहले सर्वाधिक चार विकेट लिए । यस्तै, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए ।

त्यसअघि पोखरा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
मधेस प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । आर्मीका शाहब आलम र विकेक यादवले समान तीन÷तीन विकेट लिए । सोमपाल कामी र बसिर अहम्मदले एक–एक विकेट लिए ।

प्रतियोगिताको विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो ।


सम्बन्धित समाचार