Logo

१७ मंसिर, वीरगञ्ज । बीरगन्ज महानगरपालिकाले नेपाल खानेपानी संस्थानबाट गराएको सामूहिक खानेपानी धारा जडानको पैसा अहिलेसम्म तिरेको छैन ।

महानगरको विभिन्न वडामा खानेपानी संस्थान शाखा कार्यालय बीरगन्जले सामूहिक खानेपानी धारा जडान गरेको ४ महिना भन्दा बढी भइसकेको छ । तरपनि अझैसम्म महानगरपालिकाले धारा जडानको लागत तथा त्यसको महसुल भने तिर्न नसकेको नेपाल खानेपानी संस्थान शाखा कार्यालय बीरगन्जले जनाएको छ ।

खानेपानी संस्थान कार्यालय बीरगन्जले धारा जडानबापत ३१ लाख रुपैयाँ भन्दा बढी नगरपालिकासंग लिनुपर्ने जनाएको छ । तरपनि महानगरपालिकाले रकम तिर्न आनाकानी गरिरहेको नेपाल खानेपानी संस्थानका प्रमुख निरण महर्जनको गुनासो छ ।

उनका अनुसार महानगरबाट चलानी ११३ नम्बरबाट आधिकारिकरुपमा पत्र काटेर आएपछि त्यसैलाइ आधार मानेर खानेपानी संस्थानले बिना पैसा नै सबै ठाउँमा धारा जडान गरेको थियो ।

उनी भन्छन्,‘तर अहिले कसैले वास्ता गरिरहेका छैनन्, हामीले त्यो पत्रलाई आधार बनाएर महानगरको नाममा संस्थानबाट भएको धारा जडान र महसुल शुल्क भुक्तानीका लागि पत्र पनि पठाइसकेका छौ । तर पनि त्यसको सुनुवाइ भइरहेको छैन, मेयरसाहेबसंग समस्याबारे जानकारी गराउँदा आफूलाई यसबारे थाहै नभएको सुनाउँछन् ।’

महनगरबाट यस्तो प्रतिक्रिया आउन थालेपछि आफूहरुलाई चिन्तित बनाएको खानेपानी संस्थान शाखा कार्यालय बीरगन्जका प्रमुख महर्जनको दुखेसो छ । खानेपानी संस्थान कार्यालयले यही असोज २५ गते महानगरको नाममा एक पत्र काट्दै ३० लाख ९६ हजार बाँकी रहेको रकम तिर्न आग्रह गरेको छ ।

कुन वडामा कति धारा जडान ?

जिल्लामा नै गर्मीयाममा पानीको हाहाकार भएपछि जनतालाई मध्यनजर गरी महानगरपालिकाको आग्रहबमोजिम बीरगन्जका विभिन्न ठाउँमा गरी २७८ वटा धारा जडान गरिएको थियो ।
खानेपानी संस्थानले जडान भएको प्रति धारा लागत ७८६० र मासिक महसुल १६०० का दरले प्रति महिनाको हिसाब जोडेर कुल ३० लाख ९६ हजार रुपैयाँ पुगेको खानेपानी संस्थानले जनाएको छ ।

वीरगञ्जको वडा नं १ देखि १७ र १९ मा सामूहिक खानेपानी धारा जडान गरिएको छ । महानगरभित्र वडा नम्बरहरु क्रमशः १ मा १२ वटा, २ मा ३९ वटा, ३ मा १३ वटा, ४ मा २वटा, ५ मा ८ वटा, ६ मा २ वटा, ७ मा २ वटा, ८ मा ४ वटा, ९ मा ४वटा, १० मा ४७ वटा, ११ मा ६४ वटा, १२ मा ८वटा, १३ मा २५वटा, १४ मा १४वटा, १५ मा २७ वटा र वडा नं १६ मा १९ वटा गरी कुल २ सय ७८ वटा धारा जडान गरिएको खानेपानी संस्थानले जनाएको छ ।

यता महानगरपालिकाको लेखा शाखाले भने खानेपानी संस्थानबाट भुक्तानीको लागि कुनै बिल नआएको प्रतिक्रिया दिएको छ ।

रेसखबरसंगको कुराकानीमा लेखाशाखाका अधिकृतहरुले धारा जडानको कुनै पनि बिल अहिलेसम्म लेखा शाखामा नआएको बताएका छन् ।


सम्बन्धित समाचार