Logo

१८  मंसिर,जनकपुर। धनुषामा एक स्थानीय तहमा जनप्रतिनिधिको बेवास्ताका कारण शिक्षकहरु ८ महिनादेखि तलबबाट वञ्चित रहेका छन् ।

जिल्लाको औरही गाउँपालिका स्थित श्रीराम जानकी माध्यमिक विद्यालय झिट्कोहियाका दुई दर्जन शिक्षक, शिक्षिका र कार्यालय सहयोगीसमेतले ८ महिनादेखि तलब तथा सेवा सुविधाबाट वञ्चित छन् ।

यस विद्यालयका प्रधानाध्यापक मदन कुमार महराको मनभेदले गर्दा ८ महिनादेखि शिक्षकहरुले तलब पाउन नसकेको आरोप शिक्षकहरुले लगाएका छन् ।

दरबन्दीमा नयाँ शिक्षक बद्रीनारायण यादवलाई प्रधानाध्यापक महराकै आदेशमा हाजिर गराएपनि पछि लेखापाल रामशंकर यादवमाथि विभिन्न आरोप लगाउँदै प्रधानाध्यापकले तलब निकासामा रोक लगाएपछि शिक्षक तथा कर्मचारीहरुलेसमेत ८ महिनादेखि तलबबाट वञ्चित हुनुपरेको दुःखेसो उनीहरुको रहेको छ ।

प्रधानाध्पक महराले लेखापाल रामशंकरमाथि विभिन्न आरोप लगाउँदै रिसमा तलब निकासा नै ठप्प गरेपछि शिक्षकलाई निकै समस्या उत्पन्न भएको एक शिक्षकले बताए ।

प्रधानाध्यापक महरालाई औरही गाउँपालिकाको कार्यालयले अन्यत्रै सरुवा गर्दै उनको ठाउँमा अन्यलाई प्रधानाध्यापक बनाउने कुरा थाहा पाएपछि उनी लेखापाल रामशंकर यादवसँगको मनभेदका कारण तलब निकासमा उनले अवरोध सृजना गरेको हो ।

शिक्षकहरुले तलब निकासाका लागि गाउँपालिकामा धर्नासमेत दिएका थिए । धर्ना दिएपछि औरही गाउँपालिकाले तलब निकासा अवरुद्ध गर्ने प्रधानाध्यापक महरालाई हटाएर ज्येष्ठताको आधारमा विद्यालयका शिक्षकलाई प्रधानाध्यापक बनाउने र तलब निकासा समेत हुने भन्दै योजना बनाएका थिए ।

तर शिक्षकहरुसँग सहमती गरेको करिब महिनादिन वित्दासमेत तलबसमेत पाउने अवस्था देखिएको छैन ।

यता औरही गाउँपालिकाका बोर्ड सदस्य सन्तोष ठाकुरले शिक्षकहरुको तलब निकास तत्कालै हुने र यसका लागि पालिकाले पहलकदमी लिइसकेको बताए ।

उनले विद्यालयमा उत्पन्न सृजनालाई साम्य पार्दै शिक्षकहरुको जायज माग पुरा हुनेमा विश्वस्त पार्न खोजे । पालिकाले तलबका लागि विद्यालयको खातामा पठाएपनि प्रधानाध्यापक महराले भने रोक लगाएका छन् ।

उनले लेखापाल यादवमाथि फर्जी नियुक्ति लिएकोलगायतका आरोप लगाउँदै विद्यालयलाई लथालिंग बनाएको छ । भने विद्यालयमा अध्ययनअध्यापन पनि प्रभावित बनेको छ ।

तर लेखापाल यादवले प्रधानाध्यापक महराले लगाएको आरोपलाई निराधार रहेको बताउँदै आफु नेपाल सरकारको स्थायी कर्मचारी रहेको बताए । लेखापाल यादवले भने, ‘यदी आफु गलत र फर्जी कागजात पेस गरेर लेखापाल पदमा जागिर गरिरहेको छु भने प्रमाणित गर्न चुनौती दिन्छु ।

’ उनले अघि थप्दैँ भने, ‘ विद्यालयबाट हुने गरेको आयआर्जनमा प्रधानाध्यापक मदनकुमार महराले अनियमितता गर्ने गरेको सवाल आफुले लेखापालको हैसियतले उठाएपछि वहाँ ममाथि नै रिसले खनिनु भयो र मसँग बदला लिने भावबाट ग्रसित भएर नै वहाँले सबै शिक्षकहरुको समेत तलब रोकेर मानवतासमेत बिर्सनु भयो ।’

स्रोतका अनुसार औरही गाउँपालिकाको कार्यालयले नै अन्यत्र पढाइरहेका शिक्षक बद्रीनारायण यादवलाई यस विद्यालयमा ल्याएर प्रधानाध्यापक बनाउने योजनामा छन् ।

सोकुरा प्रधानाध्यापक महराले थाहा पाएपछि उनले आफुलाई हटाउन लागेको र यस कार्यमा शिक्षकहरुको समेत संलग्नता देखिएकाले ८ महिनादेखि शिक्षक, कर्मचारीहरुको तलब नै रोका गरेर राखेको आरोप उनीमाथि छ ।

यस विद्यालयमा ५ राहत शिक्षक, २ करार शिक्षक, १ मावि शिक्षक, ४ बालबिकास शिक्षक, ३ प्रावि शिक्षक, २ अस्थायी करार शिक्षक गरी २२ जना शिक्षक तथा शिक्षिक र कार्यालय सहयोगी कार्यरत्त छन् ।

उनीहरु दशैँ, तिहार, छठलगायतका पर्वहरु सम्पन्न भएपनि हालसम्म तलब नपाउँदा घरमासमेत दयनिय अवस्था रहेको भन्दै केही महिनादेखि ऋण लिएर जिवनयापन धाउनुपरेको एक शिक्षकले दुखेसो पोखे ।


सम्बन्धित समाचार