Logo

२१ मंसिर,वीरगञ्ज । तराई–मधेशमा आजदेखि चिसो बढेको छ । आज विहानदेखि बाक्लो हुस्सुसंगै चिसो हावा र पानी शीत झर्न थालेपछि चिसो बढेको हो ।

तराइमा केही समय यता जाडोयाम सुर भएपनि बिहान र रातको समयमा चिसो लाग्ने गरेको थियो । तर अचानक आज बिहनौदेखि मौसम धुम्म भएर चिसो हावाको स्याँठ चलेकाले एक्कासी चिसो बढेको छ ।

मधेश प्रदेशका सबै जिल्लामा चिसो बढेसंगै बारा, पर्सा जिल्ला पनि चिसोबाट प्रभावित बनेको छ ।
अत्यधिक चिसो बढेसंगै वीरगन्ज र आसपासका क्षेत्रमा विहानैदेखि हल्का पानी परिरहेको छ, जसका कारण मानिसहरुको आवगमनमा असर परेको छ ।
वीरगञ्ज बजारमा मानिसहरुको चहलपहलमा पनि कमि आएको छ ।

चिसो बढ्न थालेपछि न्यानो ओढ्ने ओछ्याउने नभएका अति विपन्न परिवार पिरोलिएका छन् ।
वीरगञ्जसहित तराईका जिल्लाहरूमा बर्सेनी पुस, माघको जाडोले न्यून आयआर्जन भएका अति विपन्न र दलित परिवार विशेष प्रभावित हुने गरेका छन् ।
चिसो छल्न तराई मधेशका जिल्लामा घुर बालेर ताप्ने गरिन्छ ।

पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरुको भनाइ छ ।

उनका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ ।

अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताए । आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनी बताउँछन् ।

के सुझाव छ चिकित्सकहरुको ?

यस्तै चिसोले कठ्याङग्रिएर पनि धेरैको मृत्यु हुने गरेको छ । चिकित्सकहरूले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

नारायणी अस्पतालका फिजिसियन डा. सरोज रोशन दासले जाडो याममा चिसोजन्य सङ्क्रमण बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउनुपर्ने र ताजा तथा तातो तथा झोलिलो खानेकुरा बढी खानुपर्ने जानकारी दिनुभयो । चिसोका कारण विशेषगरि दम रोगी, मुटु रोगी, वृद्धवृद्धा, बालबालिकालाई बढि सास्ती हुने भएकाले सजग रहनुपर्ने डा. दासको भनाइ छ ।

चिसोको समयमा धुलोको पनि सङ्क्रमण रहने भएकाले ख्याल गर्न चिकित्सकहरूको सुझाव छ ।


सम्बन्धित समाचार