Logo

२२ मंसिर,ठोरी । पर्साको ठोरी गापा –५ , सानो बाघमोर्चामा सम्पन्न आँखा शिविरमा ६९ जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्।

ठोरी गापा –५ को आयोजना तथा ठोरी गापाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रवार आयोजित शिविरमा २३७ महिला सहित ४ सय २४ जनाको आँखा परीक्षण गर्दा ६९ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।

मोतीयाबिन्दुको समस्या सबैभन्दा धेरै महिलामा देखिएको छ । ६९ जनामध्ये ४७ जना महिलामा सो समस्या देखिएको तिलगङ्गा आँखा केन्द्र निचुडाका स्वास्थ्यकर्मी धर्मराज यादवले जानकारी दिनुभयो।

शिविरमा आँखा परीक्षण गराउने अधिकांशमा आँखामा मासु पलाएको , आँखा सुख्खा हुने तथा मोतियाबिन्दुको समस्या देखिएको यादवले बताउनुभयो। बिहानैदेखि बिरामीको भिड बढेका कारण मोतियाबिन्दुको बिरामीलाई प्राथमिकतामा राखेर थप उपचारका लागि निचुडा स्थित आँखा उपचार केन्द्र लैजाने व्यवस्था मिलाइएको समेत उहाँले बताउनुभयो।

मोतियाबिन्दुको बिरामी लैजान एकतर्फी लाग्ने यातायात खर्च वडा कार्यालयले व्योहोरेको छ। यस्तै मोतियाबिन्दुको समस्या देखिएका बिरामीको निचुडामा निशुल्क शल्यक्रिया गर्नुका साथै निशुल्क औषधी र चश्मा समेत उपलब्ध गराइने ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो ।

सो शिविर सञ्चालनका निमित्त चालु आर्थिक वर्षमा वडाले बजेट नै विनियोजन गरेको समेत उहाँले बताउनुभयो ।
शिबिरमा ठोरी गाउँपालिका, जीराभवानी गाउँपालिका साथै सिमावर्ती भारतीय गाउँका नागरिकहरुले आँखा परीक्षण गराएका थिए।

शिबिरको आयोजनाका लागि उन्नति मेडिकल हल सुवर्णपुरका सुरेश साह , गौरो मेडिकल हलका अजवीनाथ गौरो , सुवर्णपुर स्वास्थ्य चौकी लगायतले सहयोग गरेका थिए । यस्तै तिलगङ्गा आँखा अस्पतालको शाखा निचुडाका स्वास्थ्यकर्मीले आँखा चेकजाँच गरेका थिए ।


सम्बन्धित समाचार