Logo

२७ मंसिर,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमसहितका समर्थकहरुमाथि दुव्र्यहारको घटना भएको छ । मेयर राजेशमान सिंहका समर्थकहरुले हिजो विहान उपमेयर आलमसहित उनका समर्थकहरुसंग वादविवाद गरेका थिए ।

कोठाको विषयलाई लिएर उत्पन्न विवाद नियन्त्रण भन्दा बाहिर गएपछि मेयर समर्थकहरुले उपमेयर समर्थकलाई कुटपिट समेत गरेका थिए ।
महानगरपालिकामा हिजो भएको लडाइँको अहिले १८ घण्टा भन्दा बढी भइसकेको छ । तरपनि महानगर अहिलेसम्म तनाव ग्रस्त नै छ ।

मेयर समर्थकले कांग्रेस उपमेयर समर्थकलाई कुटपिट गरेपछि महानगर तनाव ग्रस्त बनेको हो । मेयर समर्थकले उपमेयर समर्थकलाई कुटपिट गरेको कारण मात्रै तनाव ग्रस्त बनेको छैन, कांग्रेस सचिवमाथि भएको दुव्र्यहारका कारण पनि तनाव ग्रस्त भएको देखिन्छ ।

नगरपालिका आसपास मेयर राजेशमान सिंहको समर्थक र उपमेयर आलम समर्थकसहित कांग्रेसी कार्यकर्ताहरुले भरिभराउ छ ।
यत्र, तत्र, सर्वत्र कांग्रेसी कार्यकर्ता र मेयर समर्थकहरु देखिदैछन् । महानगरपालिका नै अहिले कांग्रेस र मेयर सिंह समर्थको निगरानीमा छ ।

कोठाको विषयलाई लिएर भएको विवादमा कांग्रेसका जिल्ला सचिवसमेत रहेका उपमेयर आलमसहित समर्थकमाथि भएको दुव्र्यहारको घटनाले जिल्लाको समग्र राजनीतिमा नै हलचल ल्याएको छ ।

कोही मेयर सिंहको समर्थनमा कुरा गर्दैछन भने कोही उपमेयर आलमको पक्षमा वकालत गरिरहेका छन् ।
यो घटनाले अहिले जिल्लाको राजनीति मुख्यतः दुई भागमा विभाजित बनेको छ । अर्थात् एउटा पक्षले मेयर सिंहको चालिसा पढ्दैछन भने अर्को उपमेयरको आलमको ।
यसरी महानगरपालिकाको विवादमा राजेशमान चालिसा र आलम चालिसा चलिरहँदा पनि कांग्रेस नेतृत्व भने अहिलेसम्म मौन झै बसेको छ ।

जिल्ला सभापति किन मौन ?

कांग्रेस उपमेयर आलममाथि भएको दुव्र्यहारको विषय अहिले जिल्लाभरि नै चर्चाको विषय बनेको छ । कतिपयले यो घटनालाई कांग्रेसमाथिको प्रहारको संज्ञा दिइरहेका छन् कतिपयले मेयरलाई कांग्रेसले दिएको भोटको सम्मानको रुपमा लिइरहेका छन् ।

तर अधिकांशको चर्चा भने यही घटनामा केन्द्रीत छ । नहोस पनि कसरी, कांग्रेसको भोट लिएर मेयरमा जितेपछि कांग्रेसीहरुले गरेको चर्चा स्वभाविक नै छ ।
तर यतिबेला अर्को चर्चाले पनि उतिकै प्रशय पाइरहेको छ–त्यो हो जिल्ला सभापतिको मौनताको ।

उपमेयर आलम नै स्वयम आफूमाथि दुव्र्यहार भएको भन्दै पत्रकार सम्मेलनमार्फत बोलिरहँदा पनि उनको समर्थनमा पार्टीको जिल्ला सभापतिबाट किन बोलिएन भनेर गम्भीर प्रश्न उठिरहेको छ ।

पार्टी जिल्ला सभापति जनार्दन सिंह क्षेत्री आफ्नो सचिवमाथि महानगरमा भएको घटनाप्रति नबोल्दा विभिन्न अड्कलबाजी सुरु मात्रै गरिएको छैन, घटना भएको १८ घण्टा भन्दा बढी बितिसक्दा पनि किन एउटा विज्ञप्ति जारी गरिएन भनेर गम्भीर सवाल खडा भएको छ ।

आफ्नो उपमेयरमाथि दुव्र्यहार हुँदा पनि कांग्रेस पर्साले उनको समर्थनमा एउटा विज्ञप्ति पनि किन जारी गरेन ? कोसंग डरायो ? मेयरसंग के सम्बन्ध छ कि सभापतिको विज्ञप्ति आएन ? यी यस्ता प्रश्नहरु जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीमाथि कांग्रेसीजनले सुरु गरेका छन् ।

यी ४ सुविधाले सभापति मौन

यो प्रश्नको उत्तरमा अहिले कांग्रेसवृतमा विभिन्न चर्चा चुलिएको छ । त्यो चर्चामा सभापति क्षेत्रीको मौनताको कारण खोतलिदै छ ।
कांग्रेस सभापति क्षेत्री यसरी मौन हुनुको पछाडि महानगरपालिकाले उनलाई गर्दै आएको विभिन्न खाले सहयोगलाई मुख्यरुपमा लिइदैछ, जुन चियोचर्चो नै बन्न थालेको छ ।

कांग्रेस स्रोतका अनुसार महानगरले कांग्रेस सभापति क्षेत्रीलाई पहिलेदेखि नै खाजा र नास्ताका लागि मकालु होटल ‘फ्री’ गरेको छ ।
अर्थात् मेयर सिंहले कांग्रेस सभापति क्षेत्रीलाई नास्ता खाजाको लागि मकालु होटलको बिल तिर्ने गरेका छन् ।

योसंगै महानगरबाट पशुपति आयल निगमबाट सभापति क्षेत्रीलाई पेट्रोलको समेत सुविधा दिइएको स्रोतको दाबी छ ।
यसैगरी महानगरबाट २ जना स्वीपरलाई सभापति क्षेत्रीको घरमा सरसफाइका लागि पठाउने गरिएको स्रोतले जनाएको छ ।

जानकार भन्छन्,‘मूलतःयहीकारण कांग्रेस सभापति क्षेत्री मौन, चुपचाप छन् । नत्रभने अहिलेसम्म उनी चुप लागेर बस्दैन्थे ।’
यो विषयमा पार्टी सभापति क्षेत्रीसंग लिएको प्रतिक्रियामा आफूले कुनै किसिमको सुविधा नलिएको जनाए ।

उनले भने,‘मआफै सम्पन्न छु, त्यो सब मेरो लागि केही होइन । मेयरको पैसा खानै पर्दैन मलाई, त्यसकारण यो सब झुट हो । कसैले प्रमाणित गरे म त्यो सजाय भोग्न तयार छु ।’ मेयर र उपमेयरको विवादको बारेमा वास्तविकता बुझिरहेको हुनाले त्यसबारेमा विज्ञप्ति जारी नगरेको उनी बताउँछन् ।

के हो विवाद ?

महानगरको एउटा कोठाको विषयलाई लिएर भएको विवादमा उपमेयर समर्थकमाथि कुटपिट भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठा खाली भएपछि उपमेयर इम्तियाज आलमका स्वकीय सचिव शेष हजराले आफ्नो सचिवालय राख्ने तयारी गरेका थिए ।

तर महानगरपालिकाका केही वडाअध्यक्षसहित मेयर राजेशमान सिंहका समर्थकहरुले एकाएक खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कोठामा गएर अन्य शाखाको सामान राख्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

यसरी उत्पन्न विवाद नियन्त्रण भन्दाबहिर गएपछि मेयर समर्थकले उपमेयर समर्थकहरुमाथि कुटपिट गरेका थिए ।
मंगलबार महानगरमा भएको विवादमा परी उपमेयर आलमका स्वकीय सचिव शेष हजार घाइते समेत भएका थिए । यही विवादका कारण महानगर हिजैदेखि तनाव ग्रस्त बनेको छ ।

 


सम्बन्धित समाचार