Logo

२९ मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा बारा प्रहरीले गुण्डागर्दी शैलीमा सेवाग्राहीको नै हत्या गरेको घटना उजागर भएको छ ।

सिम्रौनगढ एरियाका प्रहरी निरीक्षक रवीभूषण यादवले गुण्डागर्दी शैलीमा चलाएको गोलीबाट सेवाग्राहीको मृत्यु भएको खुलासा भएको हो ।

स्रोतका अनुसार २०/२५ आन्दोलनरत पक्षहरुमाथि गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि उनले आफ्नो पावरको दुरुपयोग गरेर गोली बर्साएका थिए ।

घटनाको दिन केके भएको थियो ?
सधैजस्तै घटनाको दिन पनि कर्मचारीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका थिए । अर्थात् त्यो दिन पनि उनीहरु आन्दोलनमा नै थिए ।

विहान ११ बजेदेखि शिक्षकहरु धर्नामा बसेको नगर शिक्षक संघका अध्यक्ष उमाशंकर यादवले बताए । उनले भने,‘हामी असोज ३० गतेदेखि तलबको माग गर्दै लगातार धर्ना बस्दै आएका छौं, बुधबार पनि धर्नामै थियौं । करिब २ बजेको कुरा हो, मेयर साहेबले प्रशासकीय अधिकृतलाई लिएर नगरपालिका आउनु भयो । यहीबीचमा जनप्रतिनिधिहरु पनि नगरपालिकामा आए, केही स्थानीय पनि छिरे ।’

उनका अनुसार मेयर साहेबले नयाँ प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउनका लागि नै सबै जनप्रतिनिधिलाई अग्रमी सूचना दिएर बोलाएका थिए, अरे ।
धर्नामा बसेका शिक्षक यादव भन्छन्, ‘त्यसपछि उहाँहरुले कार्यालयभित्र आफ्नो छलफल सुरु गर्नुभयो, त्यो क्रममा जनप्रतिनिधि र मेयरबीच कुरा नमिल्दा भनाभन हुन थाल्यो, जुन हामी पनि सुन्दै थियौं ।

उहाँहरुबीच भनाभन हुन थालेपछि त्यहीँ ड्यूटीमा रहेका इन्सपेक्टर साहेबले सुरुमा उहाँहरुलाई भित्रै थुनेर दुव्र्यहार गरेका थिए । प्रहरीले मेयरको इसारामा जनप्रतिनिधिहरुसंग दुव्र्यहार गर्न थालेपछि विवादले उग्ररुप लिदै गयो ।’

उनका अनुसार त्यसपछि प्रहरी र जनप्रतिनिधिहरुबीच विवाद हुन थाल्यो । ‘नगरपालिकाभित्रै विवाद बढ्दै गएपछि प्रहरी निरीक्षक यादवले आफूसंग रहेका २५/३० जना प्रहरीलाई जनप्रतिनिधिमाथि लाठी चार्ज गर्न लगाए, अनि झन बबाल हुँदै गयो । अनि यहीबीचमा जिल्लाबाट पनि थप प्रहरी मगाए,’ उनले भने । उनका अनुसार यो विवाद हुँदासम्म हामी धर्नामै थियौं । जनप्रतिनिधिहरुमाथि लाठी चार्ज गरेका प्रहरीले त्यसपछि आफूहरुलाई धर्नास्थलबाट लखेटेको उनले सुनाए ।

उनका अनुसार प्रहरीले लाठी चार्ज गरेपछि विवाद लगभग मत्थर भइसकेको थियो ।

उनी भन्छन्–‘शिक्षकहरु पनि धर्ना स्थलबाट हटेर नजिक रहेको कंकाली मन्दिरसम्म पुगिसकेको थियो । तर यही अवधिमा प्रहरीले अश्रुग्याससहित गोली चलायो । जुन गोलीबाट सेवा लिन नगरपालिका पुगेका बिनको घटनास्थलमै मृत्यु भयो ।’

के गर्न पुगेका थिए सेवाग्राही ?
मृतक सेवाग्राही त्यही गाउँपालिकाको वडा नम्बर १ निवासी हुन् । स्रोत भन्छ–उनी आफ्नो बच्चाहरुको जन्मदर्ताको सिफारिस गराउन नगरपालिकाको कार्यालय पुगेका थिए । किनभने, उनको वडाका वडाअध्यक्ष दिनदयाल मुखिया नगरपालिकामै थिए ।

उनै वडाअध्यक्ष मुखियाले बिनलाई त्यहाँ बोलाएको स्रोत बताउँछ । बच्चाको जन्मदर्ता सिफारिस गराउन पुग्दा उनीमाथि निर्मम ढंगले गोली प्रहार गरिएको थियो ।

किन चलाइयो गोली ?

सिम्रौनगढ नगरपालिकामा बुधबार खासमा मेयर र जनप्रतिनिधिहरुबीच नयाँ प्रशासकीय अधिकृत मिश्रलाई हाजिर गराउने विषयमा विवाद चलिरहेको थियो ।

‘त्यो किन विवाद चलेको हो भने यही मंसिर १८ गते मेयरले सबै जनप्रतिनिधि तथा केही राजनीतिक दलहरुसंग एउटा सहमति गरेका थिए, जसमा मेयरसहित सबैको हस्ताक्षर पनि छ ।

सहमतिमा नगरसभा गर्ने समेत सम्झौता भएको थियो, स्रोत भन्छ, ‘तर त्यो सहमति विपरीत मेयर कलवारले नयाँ प्रशासकीय अधिकृत जबरजस्ती प्रहरीसंगको समन्वयमा हाजिर गराउन खोजे । जसकारण विवाद भयो ।’

सामान्य विवादमा पनि इन्सपेक्टर यादवले गोली चलाउनुको पछाडिको रहस्य मुख्यमन्त्री सरोज यादव हुन् । अर्थात् यो घटनाको तारको ‘कनेक्सन’ सिधा मुख्यमन्त्रीसंग जोडिएको छ ।

यसलाई अझ सरल हिसाबले बुझौं ।

स्रोतका अनुसार सिम्रौनगढ नगरपालिकाका मेयर कलवार मुख्यमन्त्री यादवकै पालिका निवासी हुन् । निवासी मात्रै नभइ मेयर कलवार मुख्यमन्त्री यादवको एकदम निकट मानिन्छ ।

उनै मुख्यमन्त्रीको इसारामा नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउन रणनीति तय भयो, जसका सारथी बनाइयो इन्सपेक्टर यादवलाई । किनभने, यी यादव मुख्यमन्त्रीको नातामा भाइ पर्छन् । जसकारण यीनलाई जसरी पनि हाकिमलाई हाजिर गराउने जिम्मेवारी दिइयो ।

स्रोत भन्छ–मुख्यमन्त्री यादवको त्यही आदेशका कारण इन्सपेक्टर यादवले जसरी पनि हाकिमलाई हाजिर गराउन खोजे,त्यही शिलशिलामा गोली चलाए । नत्रभने गोली चलाउन अवस्था थिएन् । किनभने त्यहाँ मान्छेको भीडभाड नै थिएन, झडप पनि भएको थिएन । तर दाइ मुख्यमन्त्रीलाई खुसी बनाउनको लागि एकजनाको ज्यान लिइयो ।’ मूलतः यहीकारणले गोली चलेको स्रोतको दाबी छ ।

प्रहरीलाई २४ घण्टे अल्टिमेटम

जन्मदर्ताको सिफारिस गराउन आएका सेवाग्राहीको हत्या भएपछि सिम्रौनगढबासीसहित राजनीतिक दलहरुले पीडितको पक्षमा आवाज उठाउन थालेका छन् ।

पीडित परिवारसंगै बाराका मुख्य राजनीतिक दलहरुले संयुक्तरुपमा दोषीलाई कारबाहीको माग गर्दै स्थानीय प्रशासनलाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले ज्ञापनपत्रमार्फत नगरप्रमुख कलवारमाथि कर्तव्य ज्यानको मुद्दा दर्ता गर्नुपर्ने, मृतकलाई शहीद घोषणा, इन्सपेक्टर यादवलाई निलम्वन गर्नु पर्ने, इन्सपेक्टर यादवको कल डिटेल निकाल्नुपर्नेसहितका माग गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन् ।

माग सम्बोधन नभए थप आन्दोलनमा जाने मृतकका पक्षहरुले प्रशासनलाई चेतावनी दिएका छन् । मृतक लक्ष्मी मुखिया बिनको शव अहिले नारायणी अस्पतालमै राखिएको छ । माग पूरा नगरेसम्म शव नउठाउने मृतकका परिवारजनको अडान छ ।

यो घटनाको बारेमा प्रतिक्रिया लिनका लागि बारा प्रहरी प्रमुख सुरेश काफ्लेलाइ फोन गर्दा उनी सम्पर्क आउन चाहेनन् ।


सम्बन्धित समाचार