Logo

३० मंसिर,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा चार दिन अगाडि प्रहरीको गोलीबाट मृत्यु भएका लक्ष्मी मुखिया बिनको दोषीको कारबाहीको माग गर्दै महेन्द्र राजमार्ग अन्तर्गतको निजगढ ठप्प पारिएको छ ।

मृतकका आफन्त तथा स्थानीय राजनीतिक दलले २४ घण्टाभित्र कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्रको अल्टिमेटमको अवधि सकिएपछि आज निजगढको तामागढी ठप्प पारिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारीलाई मृतक बिनको पक्षबाट बुझाइएको ५ बुँदे मागको सम्बोधन नभएपछि पीडितका समर्थनमा पहिलो दिन २ बजेदेखि टायर बालेर प्रदर्शन गर्नुको साथै राजमार्ग बन्द गरिएको हो ।

दोषी प्रहरीलाई कारबाही गर, मुख्यमन्त्री राजीनामा देऊ, मृतकलाई शहिद घोषणा गरसहितका नारा लगाउँदै निजगढ राजमार्ग ठप्प पारिएको हो ।

महेन्द्र राजमार्गमा नै टायर बालेर प्रदर्शन हुन थालेपछि सवारीसधान आवतजावतमा अवरुद्ध आएको छ ।स्थानीय प्रशासनबाट माग सम्बोधन नभएपछि घोषणा गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत निजगढमा चक्काजाम गरिएको सिम्रौनगढ नगरपालिकाका पूर्वमेयर विजय यादवले बताए ।

उनले भने,‘हामीले प्रशासनलाई माग सम्बोधनका लागि २४ घण्टे अल्टिमेटम दिएका थियौं, त्यो समयभित्र माग पूरा भएन । जुनकारणले पूर्वघोषित कार्यक्रम अनुसार पहिलो दिन राजमार्गमा चक्काजाम गरेका हौं । माग पूरा नभएसम्म यो आन्दोलन थप कडा हुँदै जानेछ ।’
पीडित पक्षबाट नै भएको चक्काजामका कारण अहिले निजगढ भएर आवतजावत गर्ने साना तथा ठूला खाले सवारीसाधन ठप्प भएका छन् ।

के छ माग ?

नगरपालिकामा बच्चाको जन्मदर्ताको सिफारिस गराउन पुगेका बिनको अनाहकमा प्रहरीको गोलीबाट मृत्यु भएपछि बारा जिल्ला आक्रोशित बनेको छ ।

राज्यबाट नै गैरजिम्मेवार हिसाबले निहत्था नागरिकको हत्या गरेपछि आक्रोशित बनेको बारा जिल्ला तत्कालै दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलित भयो ।

माग सम्बोधनका लागि सुरुमा बारा प्रशासनलाई ध्यानाकर्षण गराउँदै ५ बुँदे ज्ञापन सिडिओलाई बmुभाइयो, जसमा २४ घण्टाको अल्टिमेटमसमेत दिइयो । त्यो अल्मिेटमभित्र माग सम्बोधन नभएपछि बाराबासी आन्दोलित भएको पूर्वमेयर यादव बताउँछन् ।

मृतकको पक्षले उठाएको मागहरुमा गोली चलाउने इन्सपेक्टरलाई कारबाही गर, मेयरविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गर, इन्सपेक्टरको कल डिटेल चेक गर, मृतकलाई शहिद घोषणा गर, उचित क्षतिपूर्ति देऊ लगायतका छन् । मुख्यतः यी मागहरुको सम्बोधन नभएपछि पीडित पक्षले मृतकको लास नै नबुझी आन्दोलनमा होमिएको हो ।

यही बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउने सन्दर्भमा उत्पन्न विवादमा प्रहरीले चलाएको गोलीबाट सेवाग्रही बिनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक बिन त्यही नगरपालिकाको वडा नम्बर १ निवासी हुन, जो नगरपालिकामा रहेका आफ्नो वडाअध्यक्षसंग कामको शिलशिलामा भेट्न गएका थिए ।


सम्बन्धित समाचार