Logo

वीरगंज, पुस १ । बारामा नागरिक असुरक्षित बन्दै गएको घटनाहरु उजागर भइरहेका छन् । यो डेढ महिनाभित्र भएको २ वटा घटनामा सरकारी निकायबाट नै नागरिकलाई मार्ने तथा फसाउने कार्य भइरहेको तथ्य छ ।

यी कार्यमा कानुन कार्यान्वयन गराउने राज्यको ‘फ्रन्ट लाइनर’ नै संलग्न रहेको पाइएको छ । फ्रन्ट लाइनर अर्थात् नेपाल प्रहरी । त्यसका २ उदाहरण यस्ता छन, जसबाट सजिलै पुष्टि भइरहेको छ फ्रन्ट लाइनरको नियत ।

तरपनि सरकार अहिलेसम्म गैरजिम्मेवार देखिएको आरोप छ । यसरी बारामा भएको यी दुइवटै घटनामा राज्य गम्भीर नहुँदा बाराली जनताको राज्यसंग मात्र नभइ कानुनसंगै विश्वास उठ्न थालेको छ ।

कारण–बाराका यी २ वटै घटना राज्य अहिलेसम्म न कुनै छानविन गरिरहेको छ नत गम्भीरताको साथ नै लिइरहेको छ । जसकारण मधेशप्रति राज्य विभेदकारी नीतिप्रति प्रश्न उठन थालेको छ ।

जानौं पहिला ती २ वटा घटनाबारे, जसको उदाहरण यस्ता छन् ।

उदाहरण नम्बर १
घटनाको यही २७ गतेको हो । यो दिन बाराको सिम्रौनगढमा सधैजस्तै विहानदेखि तलब नपाएका कर्मचारीहरु धर्नामा थिए, जुन करिब डेढ महिनादेखि चल्दै आएको छ । तर यो दिन धर्नामा बस्दाको केहीबेरमै नगरपालिकामा मेयर किशोरी कलवारसहितको टोली आयो ।

कारण थियो–नयाँ प्रशासकीय अधिकृत महेश मिश्रालाई हाजिर गराउने । धर्नामा बसेका शिक्षक उमाशंकर यादवका अनुसार यहीकारणले मेयर दलबलसहित नगरपालिका कार्यालयमा पुगे, उनी पुगेपछि धमाधम अन्य जनप्रतिनिधिहरु पनि आइपुगे ।

उनले भने, ‘त्यसपछि नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउने सवालमा उहाँहरुबीच विवाद सुरु भयो, त्यो विवादमा प्रहरी हस्तक्षेप बढ्यो । जुन सामान्य विवादमा प्रहरीले गोली बर्साउन थाल्यो, जसबाट निहत्था मान्छेको मृत्यु भयो ।’

उनका अनुसार यो घटनामा प्रहरीले ज्यादती मात्रै गरेनन्,बर्बरता नै देखायो । त्यहीकारण एउटा २५ वर्षे युवाको ज्यान गयो । अर्थात् यहाँ राज्यले एउटा निर्दोष मान्छेलाई मा¥यो ।

उदाहरण नम्बर २
यो घटना हो, कलैया मदरसा टोलको । कार्तिक १३ गते अज्ञात समूहबाट प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार भयो, जसबाट उनको मृत्यु भयो ।

स्वर्णकारको मृत्यु भएलगत्तै बारा प्रहरीले बिना सबुत प्रमाण घटनाको केही घण्टामै ५ जनलाई पक्राउ ग¥यो ।

ती सबैलाई पक्राउ गरेको तीन दिनमा पत्रकार सम्मेलन गरेर बारा प्रहरीले भन्यो,‘प्रेम सम्बन्धका कारण हत्या भयो, जसमा सहयोगी भूमिका रहेकाहरुलाई हामीले पक्रेका छौ । बाँकीको पनि पहिचान भइसकेको छ, सबै जना चाँडै कानुनी दायरामा आउनेछन् ।’

तर यसरी भन्दै पाँचैजनालाई सार्वजनिक गर्दा पत्रकार सम्मेलनमा बारा प्रहरीले हत्यासंग सम्बन्धित ठोस सबुत प्रमाण सार्वजनिक भने गर्न सकेन् । सबुत प्रमाणको बारे सञ्चारकर्मीहरु जिज्ञासा राख्दा सार्वजनिक ग¥यो त केवल– पे्रमिका भनिएकी महिलासंगको फाटो ।

यही फोटो सार्वजनिक गर्दै बारा प्रहरी प्रमुख सुरेश काफ्ले यो घटना पन्छ्याउँदै लगेका छन् । कारण– यो घटनामा पनि अहिलेसम्म मुख्य योजनाकार र सुटर पक्राउ परेका छैनन् ।

तर प्रहरी यो घटनामा भने पक्राउ परेका निर्दोष व्यक्तिहरुलाई अदालत बुझाउने तयारीमा छन् । किनभने, पक्राउ परेकाहरुमाथि चलाइएको मुद्दाको हदम्याद अब सकिदैछ, तर मुख्य अपराधी अहिलेसम्म प्रहरी नियन्त्रणमा आइसकेका छैनन् ।

जानकार भन्छन्,‘हो, यो घटनामा प्रहरी ज्यादती भएको प्रष्ट हुन्छ, साबिकी बयानको आधारमा खाली मुद्दा चलाइदैन । हत्या जस्तो घटनामा सबुत प्रमाण पनि चाहिन्छ, तर अहिलेसम्म प्रहरीबाट सार्वजनिक भएको छैन ।’

उनका अनुसार यसको अर्थ हो, घटनाको हदम्याद कटाएर ‘फाइल’ अदालत बुझाउनु । जुन तथ्यबाट प्रष्ट देखिन्छ, प्रहरीको गम्भीर लापरबाही,’ उनले भने ।

के भन्छन् पूर्वप्रहरी अधिकारी ?
पूर्वप्रहरी अधिकारीहरु स्वयम यी दुइवटै घटनामा प्रहरीको गम्भीर लापरबाही देखिएको बताउँछन् । उनीहरु देशमा स्थिर सरकार नहुँदाको कारण यस्तो हुने गरेको बताउँछन् ।

नाम नराख्ने शर्तमा एक अधिकारी बताउँछन्,‘बारामा प्रहरी कमजोरीपन देखिदैछ, जसकारण सर्वसाधारणको फसाउने काम मात्रै भइरहेको छैन, ज्यानै लिने काम भइरहेको छ । यस्तो घटनामा सरकारले ‘एक्सन’ लिनुपर्ने हो । तर यहाँ सरकार केही बोल्दैन,किनकी गठबन्धनको सरकार छ ।’

पूर्वप्रहरी अधिकारीका अनुसार वास्तवमा भन्ने हो भने बारामा भएका घटनाहरु राज्यले छानविन समिति गठन गरेर अहिलेसम्म दोषीलाई कारबाही गरिसक्नुपर्ने हो, तर त्यस्तो हुँदैन ।


सम्बन्धित समाचार