Logo

१८ पुस,काठमाडौं। राष्ट्रिय सभा निर्वाचन नजिकिँएसँगै सत्तागठबन्धनका दलहरु भागबण्डाका लागि आन्तरिक छलफलमा जुटिरहेका छन्। यही माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा दलहरुले आआफ्नो दाबी पेश गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेसँग पनि सहकार्य गर्ने दाउमा दलहरु लागेका छन्।

आगामी निर्वाचनमा सिट बाँडफाँटबारे छलफलमा जुटेका दलहरुले आज टुंगो लगाउने बताइरहेका छन्। सत्ता गठबन्धनभित्रै सहमति जुट्न नसक्दा प्रमुख प्रतिपक्षी दल एमाललेलाई पनि सिट छुट्याउने गरी आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ।

राष्ट्रिय सभा निर्वाचनलक्षित आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन्। गोप्य भनिएको उक्त भेटवार्तामा राष्ट्रियसभा निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गरिएको बताइएको छ।

प्रधानमन्त्री दाहालले द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने बताउँदै एमालेको सहयोगबिना सम्भव नहुने निष्कर्षमा पुगेका छन्। उनले यही राष्ट्रियसभा निर्वाचन मार्फत एमालेको साथ लिन अध्यक्ष ओलीसँग निर्वाचनमा सहकार्यको प्रस्ताव अघि बढाएको बताइन्छ ।

सत्ता गठबन्धनका दलहरुबीच भएको मोटामोटी सहमति अनुसार रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनकै प्रमुख दल कांग्रेसले ९ सिट दाबी गरेको छ।

यस्तै माओवादी केन्द्रले ६, नेकपा एसले ३, जसपाले १ सिट दिनेगरी प्रसताव तय गरिएपनि अझै सहमति जुटिसकेको छैन। गठबन्धनकै दलहरुबीच सहमति नजुटिरहेको बेलामा एमालेलाई भागबण्डा छुट्याउने गठबन्धनको तयारीले अझै मूर्तरुप लिन सकेको छैन।

तथापि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच मंगलबार भएको वान टु वान वार्तामा एमालेलाई पनि सामेल गराउने बारे छलफल भएको स्रोतको दाबी छ।

यही विषयमा छलफल गर्न आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुको बैठक बस्न लागेको छ ।

बैठकमा सिट बाँडफाँट र एमालेको सहभागिताको विषयमा निर्णायक छलफल हुने एक नेताले बताए।


सम्बन्धित समाचार