Logo

२९ पुस,जनकपुर । जनकपुरधाममा पीडित उद्योगी व्यवसायीहरुले वित्तिय संस्थाको विरोध गर्दै नेपाल राष्ट्र बैंकको अगाडी प्रदर्शन गरेका छन् ।

आइतबार नेपाल राष्ट्र बैंक मधेश प्रदेश कार्यालय अगाडी बैंकको निलामी र चर्को ब्याजबाट व्यापारीलाई जोगाएर मुलुकलाई बचाउनुपर्ने भन्दै पीडित उद्योगी व्यवसायी संघर्ष समितिले प्रदर्शन गरेका हुन् ।

आर्थिक मन्दीबाट मुलुक गुज्रिरहेको र यसबाट व्यापारी तथा व्यवसायीहरु मर्कामा परेकाले मनपर्दीरुपमा लिइरहेको चर्को ब्याज कम गर्नुपर्ने, सावा मिनाहा गर्नुपर्ने, व्यवसायीहरुले लिएको ऋणका लागि बैंकमा रहेको धितो निलामी नगर्न र मुलुकको आर्थिक अवस्था माथि उकासेर देशलाई जोगाउनुपर्ने माग गर्दै बैंक अगाडी १२ बजेदेखि एक घण्टासम्म धर्नामा बसेका थिए ।

पीडित उद्योगी व्यवसायी संघर्ष समितिका संयोजक सुधिर पँजियारले आर्थिक मन्दीबाट मुलुक गुज्रिरहेको अवस्थामा यहाँका व्यवसायी तथा व्यापारीहरुसमेत अछुतो नरहेकाले राज्यले जायज समस्याको समाधान गर्नुपर्ने बताउँछन् ।

संयोजक पँजियारले बैंकले लिने गरेको दश प्रतिशतभन्दा कम ब्याज लिनुपर्ने, कालोसूचीबाट व्यापारी तथा व्यवसायी सम्बद्ध संस्थाहरुलाई हटाउनुपर्ने, व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने, व्यवसायप्रति राज्य गम्भीर हुनुपर्ने, बैंकमा रहेको धितो निलामी प्रक्रियाबाट फिर्ता लिनुपर्ने, ब्याजको सावा मिनाहा गर्नुपर्नेलगायतका माग रहेको बताए ।

उनले आर्थिक मन्दीको बेलामा वित्तिय संस्थाहरुले ब्याज, सावाँलगायत भुक्तानीका लागि दिनहुँ फोन गरेर तनाव सृजना गरेर आत्महत्यासम्मको बाटो रोज्नुपर्ने बाध्यता आएका हुनाले व्यवसायीलाई बचाउनका लागि समेत राज्यसंग माग रहेको बताए ।


सम्बन्धित समाचार