Logo

८ माघ,जनकपुर । सत्तागठबन्धनका नेताहरुको जमघटबाट जनमत पार्टीले गठबन्धनको नैतिकता र मुल्यमान्यतालाईसमेत जोगाउन नसकेकाले आउने दिनमा सरकारबाट हटाइने संकेत गरेको छ ।

गठबन्धनका घटक दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीलाई राजनीतिक संस्कार गुमाएका कारण सरकारबाट हटाइने संकेत गरेका छन् ।

आइतबार जनकपुरधाममा राष्ट्रियसभा सदस्य समन्वय समिति गठबन्धन दलले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले केन्द्रदेखि प्रदेश सरकारमा रहेर सरकार विरोधी कार्य गर्दै गठबन्धनलाई चुनौति दिने गरेकाले गठबन्धन र सरकारबाट जनमतको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए ।

जनमत पार्टीले विगतदेखि नै गठबन्धन र सरकारमै रहेर विपक्षीको भुमिका निर्वाह गर्दै आएकाले नैतिकता गुमाएको पार्टीलाई सरकारमा रहने अधिकार नरहेको बताए ।
जनमतसंग राजनीतिक संस्कार देखाउनका लागि अन्तिम अवसर अझैपनि बाकी रहेकाले तत्काल आफ्नो उम्मेदवारको उम्मेदवारी लिई गठबन्धनको उम्मेदवारलाई समर्थन गरेर गठबन्धनमा रहेको नैतिकता बचाउनका लागि उनले अपिल गरे ।

अध्यक्ष यादवले भने– ‘गठबन्धन दलको संस्कार नै जनमत पार्टीमा छैन । जनमतलाई संघीय र प्रदेश सरकारमासमेत रहनुको नैतिकता पनि छैन । सरकारमा रहेर पनि सरकारमा बितण्डा मच्चाउँछ । राजनितिमा नैतिकताको उच्च महत्व हुन्छ ।

तर इमान र नैतिकता नै नभएका पार्टीसंग हुने भनेको अराजक र नैतिकविहीनता नै हो । जहाँ गठबन्धनले सामुहिक उम्मेदवार खडा गरेको छ । त्यहाँपनि निहुँ खोजेर गठबन्धन विरुद्धमा उम्मेदवार खडाच गर्नु कस्तो नैतिकता र राजनीतिक संस्कार हो ?

बरु जनमतसंग राजनीतिक संस्कार छ भने अहिलेपनि उम्मेदवारी फिर्ता नहुने अवस्थामा पनि राजनीतिक संस्कार देखाई उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धनमै रहेको सन्देश दिने अन्तिम अवसर छ ।

त्यसको सदुपयोग गरेमा हामी जनमतको बारेमा पुनःविचार गर्न सक्छौँ । तर यदि त्यसो नभएमा गठबन्धनसंगै सरकारबाट पनि बाहिरिनुपर्ने अवस्था आउँदैछ ।

जनमतले राष्ट्रपति निर्वाचन, उपराष्टपति निर्वाचन, प्रतिनिधिसभा सदस्य निर्वाचनलगायतकामासमेत गठबन्धनको विरोधमा उम्मेदवारी खडा गरेर गठबन्धन र सरकार विरोधी काम गर्दै आएकाले आफ्नो राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गर्न यो अन्तिम मौका रहेको उनले बताए ।

जनमतले संघ र प्रदेश सरकारलाई पटक–पटक अप्ठ्यारोमा पार्ने काम गरेकाले सरकारबाट हटाउनका लागि गठबन्धनमासमेत छलफल हुने उनले बताए ।

उनले मुलुक, संविधान, संघीयता र प्रदेशलगायतका व्यवस्थामाथि नै जाइलाग्ने विरुद्ध अहिलेको गठबन्धनको आवश्यकता भएर गठन गरिएको स्पष्ट पारे ।
उनले मुलुकमा राजनीतिक अस्थिरताका कारण मुलुक दरिद्र स्थानमा रहेको बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धमा लागेका समुहलाई परास्त गर्न सात राजनीतिक दलको गठबन्धन बनेको बताए ।

उनले नयाँ नयाँ रुपमा संसदमै गणतन्त्रको विरोधी ताकतहरुपनि रहेकाले निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासन तर्फ लग्न खोज्नेहरु पनि रहेकाले वर्तमान गठबन्धनले निरन्तरता पाउने बताए ।

मुलुकमा संविधानलाई कमजोर र देशमा अराजकता मच्चाउनेहरुलाई तह लगाउनका लागि आवश्यक रहेको उनले बताए ।
उनले जनमतलाई अपिल केन्द्रिय र प्रदेशमासंगै रहेपछि अविश्वास पैदा हुने ठाउँको अन्त्य गर्दै आफ्नो उम्मेदवारलाई राजनीतिकरुपमा फिर्ता लिएर गठबन्धनमै रहेको सन्देश प्रवाह गर्न आग्रह गरे ।

उनले चेतावनी दिदैँ भने– ‘यदि जनमतले आफ्नो उम्मेदवारी फिर्ता नलिएमा हामिले यसलाई गम्भीररुपमा लिएका छौँ । यस्तो अवस्थामा खण्ड खण्डमा राजनीति हुदैन भन्ने कुरा बुझ्न आवश्यक रहेकाले तत्काल अविश्वासको वातावरण बन्न नदिउ होइन भने राजनितिक रुपमा निर्णय लिई सरकार र गठबन्धनबाट जनमतको विकल्प खोज्ने छौँ ।’

त्यस्ते नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्षमान पुन मुलुकमै ७० प्रतिशतभन्दा बढी मतभार गठबन्धनसंग रहेकाले जीत सुनिश्चित रहेको दावी गरे । उनले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नका लागि प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिदैँ पुनर्वमन्त्रीसमेत रहेका नेता पुनले गठबन्धनका साथीहरुसंग घेटघाट तथा स्थलगत वातावरण बुझ्नका लागि गबन्धन दलले कार्यदल बनाएर प्रचारप्रसारमा लागेको बताए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले गठबन्धन मुलुकको आवश्यकता रहेकाले यस गठबन्धनले नै निरन्तरता पाउने बताए । उनले मुलुक संघ र प्रदेशको रक्षाका लागि गठबन्धन बनेकाले सात दलको गठबन्धन दीर्घकालीनसम्म सोच विचार गरेर राजनीति परिस्थिती अनुसार निर्माण भएको उनले बताए ।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता रत्नेश्वरलाल गोइत, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पुर्वमुख्यमन्त्री लालबाबु राउत, कांग्रेस सहमहामन्त्री महेन्द्रप्रसाद यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका नेतृ उर्मिला देवी सिंह, जसपा नेपालका प्रवक्ता मनिष सुमनलगायतकाको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा सत्तागठबन्धनका अन्य तर्फका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना, महिला तर्फका उम्मेदवार पुजा चौधरीको फरक फर मतदान चिन्ह रहेकाले सहभागी रहेका मतदाताहरुलाई मतदानबारे प्रशिक्षण दिएका थिए ।


सम्बन्धित समाचार