Logo

फाइल फोटो

२८ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा दादुरा–रूबेलाविरुद्धको खोप अभियानको पहिलो चरणमा ९७ प्रतिशत बालबालिकालाई लगाइएको छ । सरकारले सुरु गरेको दादुरा–रूबेलाविरुद्धको खोप अभियानमा पहिलोचरणमै ९७ प्रतिशत बालबालिकालाई खोप लगाइएको जन स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

दादुरा–रूबेलाविरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका ६१ हजार बालबालिकालाई खोप लगाइएको जन स्वास्थ्य कार्यालयको तथ्यांक छ । वीरगञ्ज महानगरपालिकासहित दुई नगरपालिका र तीन गाउँपालिकाको वडाहरुमा फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले खोप अभियानमा अहिलेसम्म जिल्लाभर ६१ हजार ३७४ जना बालबालिकालाई खोप लगाइएको जानकारी दिए । दादुरा–रूबेलाविरुद्धको खोप अभियान अन्तर्गत अहिलेसम्म पर्सागढी नगरपालिकामा १२ हजार ६८७ जनालाई खोप लगाइएको छ ।

यसैगरी पोखरीया नगरपालिकामा १२ हजार ७१९, पटेर्वासुगौली गाउँपालिकामा ८ हजार ४८१, जगरनाथपुर गाउँपालिकामा १२ हजार १९, सखुवाप्रसौनी गाउँपालिकामा ११ हजार ६१६ र जिराभवानी गाउँपालिकामा ५ हजार ८८७ जना बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइएको विवरण छ ।

सरकारले दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यहि फागुन १३ देखि चैत ७ गतेसम्म ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप अभियान चलाएको छ । जिल्लाका १ हजार १८६ खोप केन्द्रमा दुई हजार ३७२ जना स्वास्थ्यकर्मी, तीन हजार ५५८ जना स्वयंसेवक खटिएको अधिकृत ठाकुरले बताए । पर्सामा ६३ हजार ३८४ जना बालबालिका लक्षित उमेर समूहका रहेको जन स्वास्थ्य कार्यालयको आँकडा छ ।

यसैबिच जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन भएको छ । पहिलो चरणको खोप अभियान सकिएसँगै आइतबारदेखि दोस्रो चरणको अभियान सुरु भएको कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार