Logo

फाइल तस्बिर।

३ चैत,वीरगञ्ज । पर्सा वीरगञ्जको नारायणी अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । मौसममा आएको परिवर्तनका कारण न्यून चापीय प्रभावले गर्दा बिरामीको सङख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।
बिहान र बेलुकाको समयमा चिसो भएपनि मध्यान्हपछि गर्मी सुरु हुँदा नारायणी अस्पतालमा बिरामीको सङख्या २५ प्रतिशतले वृद्धि भएको अस्पतालको भनाइ छ ।
शहरी क्षेत्र तथा ग्रामीण बस्तीका झाडापखाला, फुड पोइजनिङ्ग, भाइरल ज्वरो, रुघाखोकी, श्वासप्रश्वासका बिरामी उपचार गराउन अस्पताल आउनेको सङख्यामा अत्याधिक वृद्धि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चितरञ्जन साहले जानकारी दिए ।

उनका अनुसार विशेषगरी बालबालिका तथा वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, दम र निमोनियाको समस्याबाट ग्रसित छन् ।दैनिक ३०० जना सेवाग्राहीमध्ये १५० जनामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी फेला पर्ने मेसु साह बताउँछन् ।

उनले भने, ‘अहिले ओपिडितर्फ बिरामीको संख्या बढेको छ, औसत ६ सयदेखि ८ सय हुनेमा अहिले एक हजारसम्म बिरामी पुग्न थालेका छन् । आकस्मिक विभाग (इमरजेन्सी) मा समेत २५ देखि ३० जना ज्वरो तथा रुघाखोकीका बिरामीको सङख्या थपिदैँ छ ।’

भर्ना नै गर्नुपर्ने बिरामीलाई इमरजेन्सी तथा आइसियु वार्डहरुमा लगेर भर्ना गरी उपचार गरिने उनले बताए । उनी भन्छन्, ‘पहिलेजस्तो अस्पतालमा शय्या अभाव छैन, इमरजेन्सीमा कुनै बिरामी भर्ना गर्नुपरे जुन वार्डमा शय्या खाली हुन्छ त्यहि वार्डमा बिरामी भर्ना गरेर उपचार गर्छौ ।’


सम्बन्धित समाचार