४ चैत, काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ । गृहमन्त्री र प्रहरी महानिरीक्षकको रोहवरमा गृह मन्त्रालयमा सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले प्रतिवेदन बुझेका हुन ।
प्रतिवेदनमा दोषि देखिएका र तत्काल मुद्धा चलाउन आयोगले सुझाव दिए अनुसार पूर्व सभामुख कृष्णवहादुर महरा विरुद्ध कार्वाही हुने भएको छ । पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ परिसकेका छन् ।
आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीले प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने बताए । प्रतिवेदनलाई कार्यान्वयन गर्न मन्त्रीपरिषदले गृहमन्त्रालयलाई निर्देशन दिएको थियो ।
विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।
त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।
सुन व्यापारी माथि कार्वाही होला त ?
सरकारले सुनको कोटा प्रणाली लगाएपछि मौलाएको सुनको अवैध व्यापारमा संलग्न उच्च तहका राजनीतिक नेतृत्व र कर्मचारी माथि सीआईबीले पहिलो चरणमा अनुसन्धान गर्ने भएको छ । सुन तस्करीमा संरक्षण दिने राजनीतिक र प्रशासनिक निकायका पदाधिकारी माथिको अनुसन्धानपछि कारोवारमा संलग्नहरु सुन व्यापारीमाथि पनि अनुसन्धान गर्ने तयारीमा सीआईबी रहेको स्रोतको भनाई छ ।
सुन तस्करी सम्वन्धी जाँचबुझ आयोगको प्रतिवदेनमा नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले ४ पृष्ठ लामो लिखित बयान दिएका छन् । सुनको तस्करी कसरी भइरहेको छ भन्ने बिषयमा आयोगले गुप्तासँग सवाल उठाएको थियो । उनले नेपालमा सुनको कोटा प्रणाली लागु भएपछि सुन तस्करी मौलाएको भन्दै लिखित जवाफ दिएका छन् । उनले सुनको अवैध कारोवारमा सुनचाँदी व्यवसायीहरुको छाता संस्था संघ र महासंघका पदाधिकारीको मिलेमतो रहेको समेत खुलाएको स्रोतको भनाई छ ।
संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको भनाईलाई आधार मानेर केही काराेवारीलाई समेत अनुसन्धान गर्नुपर्ने माग सुनचाँदीको कारोवार गर्ने साना व्यवसायीहरुको छ । गुप्ताले दिएको बयानलाई मुख्य आधार बनाउन अनुसन्धानमा खटिने प्रहरी अधिकृतसँग साना व्यवसायीहरुको माग छ ।
सुनको कोटा प्रणालीका कारण नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल रत्न तथा आभुषण संघमा भएका केही पदाधिकारीहरुले विभिन्न व्यक्तिको नाउँमा कम्पनी खडा गरी सुनको अवैध कारोवार गरेको आरोप उनीहरु माथि लगाइएको छ । राज्यका विभिन्न निकायमा संघ र महासंघका पदाधिकारी विरुद्ध उजुरी परेको छ । संघका जिम्मेवार पदाधिकारीले उनीहरुका विरुद्ध उजुरी दिएका हुन ।
नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकार, उपाध्यक्ष निमर्लज्योति तुलाधर, शक्ति वेगानी, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी लगायतलाई अनुसन्धानको दायरामा ल्याउन छानवीन आयोगमा एक व्यवसायीले लिखित उजुरी समेत गरेको स्रोतको दावी छ । उजुरी परेका व्यवसायीहरुमाथि विभिन्न समयमा राजश्व अनुसन्धान विभाग, सम्पत्ती शुद्धिकरण विभाग, प्रहरी र आन्तरिक राजश्व विभागले समेत अनुसन्धान गरेको बताइएको छ । विभिन्न राजनीतिक र प्रशासनिक शक्तिकेन्द्रको आडमा ती निकायबाट उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै उजुरी परेको स्रोतले जनाएको छ ।
आरोप लागेका व्यवसायी संघका जिम्मेवार पदाधिकारीहरु पवन कुमार सोमानी र शक्ति वेगानीले आफूहरुको कारोवार अवैध नभएको बताएका छन् । उनीहरुले राज्यका निकायले छानवीन गरे त्यसमा सहयोग गर्ने उनीहरुको भनाई छ ।
व्यवसायीको अनुसन्धान कसरी गर्ने ?
राज्यका निकायमा उजुरी परेका व्यवसायीहरुको अनुसन्धानका लागि उनीहरुको बार्षिक कारोवारको सम्पूर्ण विवरण र बैंक स्टेटमेन्टलाई मुख्य आधार बनाउनु पर्ने साना व्यवसायीहरुको भनाई छ ।
संघ र महासंघको सिफारीसमा सुनको कोटा वितरण हुने भएकोले संघ र महासघमा रहेको सिफारीस पत्र र सिफारीस गरेबापत लिने शुल्क तिरेको रसिदलाई छानवीन गरेपनि कसले कुन मितिमा सुन लिएको छ खुल्न सक्ने स्रोतको भनाई छ । विभिन्न बाणिज्य बैंकबाट खरिद गरेको सुन स्टकमा राख्न लगाई १५ दिन पछि एउटै व्यक्तिले विभिन्न कम्पनीको नाउँमा सुन खरिद गरेकोले ती कम्पनीले बैंकबाट खरिद गरेको सुन कुन मितिमा कसलाई बिक्रि गरेको हो त्यसको रेकर्डबाट सुनको अवैध कारोवार पत्ता लगाउन सकिने स्रोतले जनाएको छ ।
६१ किलो सुन प्रकरणमा पुर्पक्षकालागि कारागारमा रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सरार्फ साझेदारीमा कारोवार गरेका संघ र महासंघका पदाधिकारीहरुको सम्पर्क र सम्वन्धलाई समेत नोटिसमा राखिनुपर्ने एक व्यवसायीले बताए ।